कपिलवस्तुका ५ स्थानीय तहमा आज शोक बिदा

कपिलवस्तुका ५ स्थानीय तहमा आज शोक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्तको निधनमा जिल्लाका ५ स्थानीय तहले शुक्रबार शोक बिदा दिएका छन् ।

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

यी नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षद्वारा प्रकाशित शोक विज्ञप्तिमा जिल्लाले विकासप्रेमी र असल अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

२०२७ सालदेखि राजनीति गर्दै आएका गुप्ता २५ वर्षभन्दा बढी समय कपिलवस्तु नगरपालिकाको नेतृत्वमा रहेका थिए । २०३९ सालमा तौलिहवा नगर पञ्चायत स्थापना भएपछि उनी नगरप्रमुखमा निर्वाचित भएका थिए ।

२०४३ सालमा पनि उनी नगर पञ्चायतको नगरप्रमुखमा निर्वाचित भएका थिए । त्यसैगरी, २०४८ र २०५४ सालमा कपिलवस्तु नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत मेयर पदका उम्मेदवार बनेका उनी पराजित भएका थिए ।

लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित ८२ वर्षीय गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहीबार बिहान ६ बजे निधन भएको उनका छोरा अखिलेश गुप्तले बताए । उनको दाहसंस्कार शुक्रबार हुनेछ ।