काठमाण्डु- संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा अनियन्त्रित ट्रकले २३ वटा सवारीसाधनलाई ठक्कर दिँदा तीन भारतीयसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।
मृत्यु हुने भारतीयहरू केरलाको मलप्पुरम जिल्लाको एउटै परिवारका सदस्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूमा जुम्ल्याहा दाजुभाइ तथा दिदीबहिनीमध्ये एक जोडीसमेत रहेको बताइएको छ।
दुर्घटनापछि कयौँ सवारीसाधनमा आगलागी भएको थियो। केही शव जलेर क्षतविक्षत भएकाले मृतकको पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएको छ।
सात देशका नागरिकको मृत्यु
यूएईको गृह मन्त्रालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक छन्।
घाइते ३० जनालाई तत्काल अस्पताल पुर्याइएको थियो। उनीहरूमध्ये करिब आधालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने बाँकीको उपचार भइरहेको छ।
दुर्घटनामा मृत्यु हुने तीन भारतीयको पहिचान मुहम्मद अस्मिल, उनकी जुम्ल्याहा बहिनी मिस्ना जुबिन र मुहम्मद फैज रहेका छन्।
केरलाका मुख्यमन्त्री भीडी सतीशनले पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
दुबईस्थित भारतीय वाणिज्य दूतावासले पनि आफ्ना तीन नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले पीडित परिवारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूसँग समन्वय गरी आवश्यक सहयोग गरिरहेको जनाएको छ।
यूएईको गृह मन्त्रालयका अनुसार फुजैराह सहरको प्रवेश मार्गमा बिहीबार मध्यरात हुनुअघि दुर्घटना भएको थियो। त्यतिबेला सडकमा सवारीसाधनको चापका कारण ट्राफिक सुस्त गतिमा चलिरहेको थियो।
त्यही क्रममा एउटा ट्रकका चालकले सवारीसाधनमाथिको नियन्त्रण गुमाएका थिए। ट्रक सुरुमा एउटा सवारीसाधनसँग ठोक्किएको थियो। त्यसपछि पल्टिएर सडकमा सुस्त गतिमा गुडिरहेका तथा रोकिएका अन्य सवारीसाधनमा ठोक्किएको थियो।
ठक्करपछि लागेको आगो तीव्र गतिमा अन्य सवारीसाधनमा फैलिएको थियो। दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक गरी कुल २३ वटा सवारीसाधन परेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी, एम्बुलेन्स र नागरिक सुरक्षा (सिभिल डिफेन्स) का टोली घटनास्थल पुगेका थिए। उद्धारकर्मीहरूले आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूलाई उद्धार गरी अस्पताल पुर्याएका थिए।


प्रतिक्रिया