छठको मुख्य दिन सार्वजनिक बिदा दिन राष्ट्रिय मुक्ति पार्टीको माग

छठको मुख्य दिन सार्वजनिक बिदा दिन राष्ट्रिय मुक्ति पार्टीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय मुक्ति पार्टीले छठ महापर्वको मुख्य दिन सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ।

पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वको मुख्य दिन कार्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने भएकाले उक्त दिन सार्वजनिक बिदा दिन आग्रह गरेका हुन्।

छठ पर्व तराई-मधेशको मात्र नभई समग्र नेपालको साझा सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै पार्टीले यसको सम्मान र प्रवर्द्धन गर्नुपर्ने जनाएको छ।

सूर्य र प्रकृतिप्रतिको कृतज्ञता, जलाशय तथा पर्यावरण संरक्षण, पारिवारिक सुख-शान्ति, सामाजिक सद्भाव र सामुदायिक एकताको सन्देश बोकेको छठ नेपालको बहुलतायुक्त सभ्यताको अमूल्य सांस्कृतिक सम्पदा भएको पार्टीको भनाइ छ।

छठ पर्वले आस्था र विश्वाससँगै प्रकृति र मानवबीचको सहअस्तित्व तथा पारस्परिक निर्भरतालाई स्मरण गराउने महतोले उल्लेख गरेका छन्।

छठका घाटमा पुरोहित वा मध्यस्थकर्ताबिना व्रतालु र प्रकृतिबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने तथा एउटै घाटमा समाजका विभिन्न तप्काका मानिसले साझा सूर्यलाई अर्घ्य दिने परम्पराले सामाजिक समरसताको सन्देश दिने महतोले बताएका छन्।

विविध संस्कृतिको सम्मान, सबै पहिचानको समान मान्यता र सहअस्तित्वमा आधारित राष्ट्रिय एकता नै नेपालको साझा शक्ति भएको उल्लेख गर्दै पार्टीले छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, आरोग्यता, समृद्धि र सद्भाव ल्याउने विश्वास उनले व्यक्त गरेका छन्।