काठमाण्डु- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ सम्मेलनमा शेर्पा समुदायको परम्परागत पहिरन गलत ढंगले लगाएको भन्दै विरोध भएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले मन्त्रीले शेर्पा समुदायको सांस्कृतिक पहिचान र परम्पराको अपमान गरेको आरोप लगाउँदै सार्वजनिक माफी माग्न माग गरेकी छन्।
शेर्पाले मन्त्री चौधरीले लगाएको पहिरनको स्वरूप बिगारिएको र उल्टोपाल्टो पारेर लगाइएको भन्दै आपत्ति जनाएकी हुन्। उनले मन्त्रीले हिमाली समुदायको पहिरनको सांस्कृतिक महत्त्व नबुझी र सम्बन्धित समुदायसँग परामर्श नगरी प्रयोग गरेको आरोप लगाएकी छन्।
‘यो हिमाली मुद्दा उठाएको होइन, हिमाली जातिलाई जिस्क्याएको हो,’ उनले लेखेकी छन्, ‘हाम्रो पहिरनलाई नबुझी, नसोधी र समुदायको एक जनालाई पनि परामर्श नगरी उल्टो लगाएर हिँड्नुभयो।’
पहिरन शरीर ढाक्ने वस्तु मात्र नभई समुदायको इतिहास, पहिचान र पुर्खासँग जोडिएको सांस्कृतिक सम्पदा रहेको उनले बताइन्।
शेर्पाले सगरमाथामार्फत विश्वमा नेपालको पहिचान स्थापित गर्न र हिमाल संरक्षणमा शेर्पा समुदायले पुर्याएको योगदानको स्मरण गराउँदै त्यही समुदायको पहिरनलाई गलत ढंगले प्रस्तुत गर्नु आपत्तिजनक भएको बताएकी छन्।
‘हिमालको मुद्दा उठाउन शेर्पा बन्नै पर्दैनथ्यो, मन्त्री भएर गए पुग्थ्यो। तर शेर्पा बन्ने भए राम्रोसँग शेर्पा बन्नुस्, हाम्रो संस्कृतिलाई सम्मान गर्नुस्,’ उनले लेखेकी छन्। उनले मन्त्री चौधरीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र सम्बन्धित समुदायसँग परामर्श नगरी उनीहरूको परम्परागत पहिरन प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्ने माग गरेकी छन्।
‘मेरो पहिरन मेरो प्राण हो। मेरो पहिरनलाई उल्टो लगाएर मेरो पुर्खालाई गाली गर्ने अधिकार कसैलाई छैन, मन्त्रीलाई पनि छैन,’ उनको भनाइ छ। अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा हिमाली मुद्दा उठाउँदा हिमाली क्षेत्रका समुदायका प्रतिनिधिलाई नै आफ्नो कुरा राख्ने अवसर दिनुपर्नेमा पनि उनले जोड दिएकी छन्।
यसैबीच, उता नेकपा नेतृ तथा पूर्वसांसद छिरिङ ल्हामो लामा तामाङले पनि मन्त्री चौधरीको पहिरनप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन्। उनले वनमन्त्री भन्दैमा वनमान्छेजस्तो व्यवहार देखाउन नहुने टिप्पणी गर्दै नजानेको विषयमा पहिले सिकेर मात्र काम गर्नुपर्ने बताएकी छन्।
संयुक्त राष्ट्रसंघजस्तो अन्तर्राष्ट्रिय मञ्चमा अर्को समुदायको सांस्कृतिक पहिरन प्रयोग गर्दा त्यसको मर्यादा र परम्परालाई ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले सस्तो लोकप्रियता र प्रचारका लागि अरू समुदायको पहिरनलाई गलत ढंगले प्रस्तुत गर्ने प्रवृत्तिले सांस्कृतिक पहिचानमाथि चोट पुग्ने टिप्पणीसमेत गरेकी छन्।
उता मन्त्री चौधरी भने यतिबेला कोप-३१ सम्मेलनमा टर्कीमा व्यस्त छिन् । उनले यसबारेमा अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएकी छैनन्।


प्रतिक्रिया