परराष्ट्र स्रोत भन्छ : ४ मन्त्री, प्रधानमन्त्री र उहाँका २–४ जना सहयोगीको नाम आइसक्यो

परराष्ट्र स्रोत भन्छ : ४ मन्त्री, प्रधानमन्त्री र उहाँका २–४ जना सहयोगीको नाम आइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणमा ४ जना मन्त्री सहभागी हुने पक्का भएको छ।

परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, पर्यटन मन्त्री गणेश लम्साल जाने फिक्स भएको छ।

यस्तै प्रधानमन्त्रीसँग उनका सल्लाहकार कुमार बेन, प्रेस सल्लाहकार दिपा दाहाल, राजनीतिक सल्लाहकार असिम शाह लगायत पनि जाने तयारी पूरा भएको हो ।

सुरुमा १५ सदस्य टोली जाने भनिएकोमा अहिले आएर ४० जनासम्म हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनीहरू एकैपटक जान्छन्, यहाँ अलग–अलग विमानमा जान्छन् भन्ने कुरा अहिले मन्त्रालयले खुलाउन चाहेन ।

‘४ जना मन्त्री र केही प्रधानमन्त्रीका सल्लाहकारहरू जाने फाइनल भएको छ। मन्त्रीहरू उपस्थित भएपछि उहाँका सहयोगी सल्लाहकार र सम्बन्धित मन्त्रालयका कर्मचारी पनि पक्कै सहभागी हुनुहुन्छ,’ परराष्ट्र स्रोतले काठमाण्डुपाटीलाई भन्यो, ‘सम्बन्धित मन्त्रीहरू जाँदाखेरी भ्रमण फलदायी र योजनाहरूको विषयमा एग्रिमेन्ट गर्न सहज होस् भन्ने हिसाबले तयारी भएको हुनसक्छ । ४० भन्दा मुनिकै टीम आउँछ भन्ने कुरा छ, नामहरू आइरहेका छन्, फाइनल नाम तयार भइसकेको छैन । अरुको नाम अहिले दिन सक्ने अवस्था छैन । नामहरू थपघट र फेरबदल भइरहेका छन् ।’

स्रोतले दिएको जानकारीअनुसार परराष्ट्र मन्त्रालयका सचिव अमृत राई लगायत पनि जान सक्ने सम्भावना छ ।

परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेकाले अहिले यसै भन्न सक्ने अवस्था नरहेको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार दिपा दाहाल दिन्छिन् । उनले काठमाण्डुपाटीलाई भनिन्, ‘परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ, सबै नामहरू र कार्यक्रमहरू फाइनल भइसकेका छैनन् । परराष्ट्र मन्त्रालयले आफ्नो हिसाबले तयारी गरिरहेको जानकारी हामीलाई छ ।’

उनले मंसिरको पहिलो हप्ता भ्रमण हुने भए पनि मितिको विषयमा भने खुलाउन चाहिन्न । तर परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री मंसिर ७ गते ३ दिने भारत भ्रमणमा निस्किँदैछन् ।

प्रधानमन्त्रीले भ्रमण सफल बनाउनका लागि सम्बन्धित मन्त्रालय र कर्मचारीहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिइसकेको प्रधानमन्त्रीको कार्यालय बताउँछ ।

चैतको १३ गते प्रधानमन्त्री नियुक्ति भएका बालेन्द्रको छिमेकी मुलुकको पहिलो भ्रमण हो ।