काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जनकपुर छठ मनाउन पुगेका छन् ।
विमानस्थल हुँदै जनकपुर पुगेका उनको कांग्रेस नेता बिमलेन्द्र निधिसँग भेट भएको थियो ।
अचानक विमानस्थलमा भएको भेटमा निधिले जनकपुरमा रविलाई स्वागत गरेका थिए । ‘हाम्रो मधेसमा स्वागत छ । यहाँका दु:ख सुख सबै हेरेर जानुहोला,’ निधिले भनेका थिए, ‘छठमा रमाइलो गर्नुहोला । तपाईँ र तपाईँको परिवारलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो ।’
रविले पनि निधिलाई जनकपुर आउन पाउँदा खुसी लागेको बताएका थिए । सँगै रविले पनि छठ पर्वको शुभकामना निधिलाई दिए ।
रविको सचिवालयका अनुसार विमानस्थलमा अचानक रवि र निधिको भेट भएको हो । त्यस क्रममा सामान्य हालखबर पनि सोध्ने कार्यक्रम भएको बताइएको छ ।
मधेश प्रदेशका महामन्त्री मानिकुमार साहका अनुसार रवि र उनको परिवारलाई विधिपूर्वक पूजाआजा गर्नका लागि छुट्टै घाटको व्यवस्था समेत गरिएको छ । उनी छठ पर्वको अन्तिम दिन अर्थात् सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर मात्रै काठमाण्डु फर्किने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रविको मधेश भ्रमण स्वभाविक हिसाबले धार्मिक मात्रै रहेको बताएको छ । उनले त्यहाँ भ्रमण गर्दा आफू निकटकै नेताहरूसँग भेट्ने कार्यक्रम छ ।
रवि जनकपुरमा आफ्नै पार्टी शुभचिन्तकका घरमा बस्ने कार्यक्रम रहेको शाह बताउँछन् ।


प्रतिक्रिया