काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताएका छन्। उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना गरी सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताएका छन्।
राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गरी रातभर नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गरेका छन्। उनले खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको बताएका छन्।
यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
छठ महापर्व, २०८३ का अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले हिमाल, पहाड र मधेसका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्ने यस्ता पर्वले हाम्रो राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई अझ सुदृढ बनाएको बताएका हुन्।
उपराष्ट्रपति यादवले मानव, प्रकृति र सृष्टिबिचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताएका छन्।
उनले सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अर्घ्य अर्पण गर्ने यस पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने बताएका छन्।


प्रतिक्रिया