यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ।

पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा नतिजाविहीन बनेको लुम्बिनीले शीर्ष स्थान सुरक्षित गरेको हो। गत संस्करणको विजेतासमेत रहेको लुम्बिनी यसपटक पनि उपाधि दाबेदारका रूपमा अघि बढेको छ।

सुदूरपश्चिम रोयल्स सात खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रह्यो। टोलीले पाँच खेलमा जित र दुई खेलमा हार बेहोरेको छ।

काठमाण्डु गोर्खाज आठ अंकसहित तेस्रो स्थानमा रहँदा चितवन राइनोज सात अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेका छन्।

यससँगै लिग चरणबाटै बाहिरिने टोलीमा विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स छन्।

प्लेअफको समीकरण
लिग चरणको शीर्ष दुई टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। जसअनुसार आगामी मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर खेल हुनेछ। उक्त खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ।

त्यस्तै, बुधबार हुने एलिमिनेटरमा काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन्। यस खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

पहिलो क्वालिफायरमा पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ।

एनपीएलको तेस्रो संस्करणको फाइनल खेल आगामी मंसिर ५ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। प्लेअफका सबै खेल यही मैदानमा आयोजना हुनेछन्।

अब चार टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायर र एलिमिनेटरका नतिजाले फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछन्।