शिक्षामन्त्री पोखरेलले गरे टर्कीको ‘हरित विद्यालय’ मोडलको अवलोकन

शिक्षामन्त्री पोखरेलले गरे टर्कीको ‘हरित विद्यालय’ मोडलको अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन् ।

एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई विशेष महत्व दिँदै स्थानीय शैक्षिक संस्थाहरूको अवलोकन गराएका हुन् । मन्त्री पोखरेलले पनि टर्कीको बालमैत्री, प्रकृतिमैत्री र प्रयोगात्मक सिकाइ प्रणालीप्रति चासो राख्दै त्यसका व्यवस्थापकीय पक्षबारे सुक्ष्म जानकारी लिए ।

भ्रमणका क्रममा दुवै देशका शिक्षामन्त्रीहरू एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बाल विकास केन्द्र’ (किन्डरगार्टन) पुगेका थिए । उक्त अवलोकन भ्रमणमा दुवै देशका मन्त्रीहरूसँगै टर्कीको सत्तारुढ दल एके पार्टीका प्रान्तिय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओइसीडी लगायतका अन्तरराष्ट्रिय निकायका उच्च प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले औपचारिक कक्षा कोठाको सिकाइभन्दा बाहिर निस्किएर सानै उमेरदेखि बालबालिकालाई प्रकृति, वातावरण संरक्षण र दिगो विकासको जीवनशैलीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष जिज्ञासा राखेका थिए ।

उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला (वर्कशप) तथा बिरुवा उत्पादन क्षेत्रको निरीक्षण गर्दै बालबालिकाहरूले तयार पारेका ‘शून्य फोहर’ परियोजना, पुनस् प्रयोग (रिसाइकल) अभ्यास र मिनी ग्रीनहाउस (नर्सरी) मा गोलभेँडा लगायतका तरकारी तथा बिरुवा उमारिएको प्रयोगात्मक विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग विस्तृत जानकारी लिएका थिए ।

सोही अवसरमा टर्किस शिक्षामन्त्री तेकिन र मन्त्री पोखरेलले विद्यालयका शिक्षक तथा अभिभावकहरूसँग संवाद गर्दै पूर्व–प्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका व्यावहारिक अनुभव, पूर्वाधारको आवश्यकता र अभिभावक–विद्यालय सहकार्यका अभ्यासबारे समेत छलफल गरेका थिए ।

भ्रमणका क्रममा बाल विकास केन्द्रका साना विद्यार्थीहरूले अतिथिहरूको स्वागतमा परम्परागत टर्किस लोक नृत्य प्रस्तुत गरेका थिए । दुवै देशका शिक्षामन्त्रीहरूले बिरुवा रोपिरहेका तथा सांस्कृतिक प्रस्तुति दिने बालबालिकाहरूको सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूसँग भलाकुसारीसमेत गरे ।

उक्त भ्रमणमा टर्किस परम्पराअनुसार पालुङ्गो साग राखेर बनाइएको स्थानीय परिकार ‘इस्पानक्ली गोज्लेमे’ र चियासहित आतिथ्य प्रदान गर्नुका साथै फूलको गुच्छा दिएर बिदाइ गरिएको थियो ।

टर्कीको व्यावहारिक ‘हरित विद्यालय’ र बाल विकास केन्द्रको अवलोकनपछि मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको प्रेम, शून्य फोहरको बानी र जलवायु सचेतना जगाउन सके भविष्यको पुस्ता स्वतस् वातावरणमैत्री र विपद् उत्थानशील बन्ने धारणा राखे ।

नेपालमा पनि पूर्व–प्राथमिक तथा विद्यालय तहको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने गरि काम भइरहेको मन्त्री पोखरेलले बनाउनुभयो । जसमा टर्कीको यो मोडलबाट पनि कतिपय कुरा सिक्न सकिने निष्कर्ष उनको थियो ।