बालेन दिल्लीबाहिर नजाने, मोदीसँगको भेटमै द्विपक्षीय मुद्दा टुंग्याउने तयारी

बालेन दिल्लीबाहिर नजाने, मोदीसँगको भेटमै द्विपक्षीय मुद्दा टुंग्याउने तयारी

अड्किएका आयोजना र सीमा विवादको मुद्दा पनि उठाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुपाटी- प्रधानमन्त्री वालेन्द्र शाह पहिलोपटक राजकीय भ्रमणका लागि दक्षिणी छिमेकी भारत जाँदैछन्। मंसिर ६ गते नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँदिल्ली जान लागेका प्रधानमन्त्री भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम छ। दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री दिल्लीबाहिर जाने कार्यक्रम छैन।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्रीलाई भ्रमणका क्रममा भारत सरकारले विशेष स्वागतको तयारी गरिरहेको छ। प्रधानमन्त्री बालेनको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनको स्वागतमा स्थानीय संस्कृति झल्किने सांस्कृतिक नृत्य प्रस्तुतिको व्यवस्था गर्नसमेत निर्देशन दिएका छन्। भारतीय सञ्चारमाध्यमहरूले पनि प्रधानमन्त्री बालेनको भ्रमणलाई विशेष बनाउन सरकारले तयारी गरिरहेको जनाएका छन्।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले काठमाण्डुपाटीलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री वालेन्द्र भारतमा एक रातमात्रै बस्नेछन्। उनको सचिवालयले पनि भ्रमण छोटो हुने पुष्टि गरेको छ। एक रात भारतमा बिताउन लागेका प्रधानमन्त्री दिल्लीबाहिर जाने कार्यक्रम छैन।

‘नेपालको टोलीबाट पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) लगायतको टोली बुधबार नै भारत जाँदैछ। नेपाली टोली अगाडि नै पुगेर विभिन्न एजेन्डालाई अन्तिम रूप दिने भएका छन्। ‘अन्तिम सहमतिमा हस्ताक्षर समहारोमा भाग लिनुका साथै भारतीय समकक्षी मोदी तथा राष्ट्रपति द्रौपती मुर्मूसँग बालेनले भेट गर्नु हुन्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले काठमाण्डुपाटीलाई भन्यो, ‘लामो समयदेखि अड्किएका विकास आयोजनालाई सहमतिमार्फत अगाडि बढाउने सम्झौता हुनेछ।’

दिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार भारत पुगेपछि प्रधानमन्त्रीले त्यही साँझ दूतावास भ्रमण गर्ने कार्यक्रम तय भइसकेको छ।

‘मंसिर ६ गते साँझ प्रधानमन्त्री आउने भएकाले तयारी गरिरहेका छौँ। आधिकारिक जानकारी मंगलबार सार्वजनिक हुन्छ,’ दूतावासका एक अधिकारीले काठमाण्डुपाटीलाई भने, ‘मंसिर ६ गते दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गरेको छ। त्यो ताजमहल होटमा आयोजना गर्दैछौँ।’

दूतावासका अनुसार त्यही दिन भारतीय विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीकी मिडिया व्यवस्थापन संयोजक दीपा दाहालले पनि भ्रमण तालिका लामो नरहेको बताएकी छन्। उनले काठमाण्डुपाटीलाई भनिन्, ‘परराष्ट्र मन्त्रालयले जानकारी दिएअनुसार भ्रमण तालिका लामो छैन। हामी तयारी गरिरहेका छौँ। एजेन्डा अन्तिम चरणमा छन्। भ्रमण दलको अन्तिम टुंगो पनि परराष्ट्र मन्त्रालयले गर्दैछ।’

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पनि भ्रमण लामो नहुने भएकाले प्रधानमन्त्री दिल्लीबाहिर जाने कार्यक्रम नरहेको बताउँछन्। ‘प्रधानमन्त्री दिल्लीबाहिर जाने कार्यक्रम यसपटक नरहन सक्छ,’ श्रेष्ठले काठमाण्डुपाटीलाई भने, ‘एजेन्डालाई अन्तिम रूप दिने काम मंगलबारबाट सुरू हुन्छ। छोटो र प्रभावकारी भ्रमणका लागि काम भइरहेको छ। प्रधानमन्त्रीको भ्रमण छोटो र फलदायी बनाउने तयारी भइरहेको छ।’

७ गते राष्ट्रपति भवनमा गार्ड अफ अनर

भारतीय विदेश सचिव विक्रम मिस्री गत कात्तिक १८ गते नेपाल आउँदा प्रधानमन्त्री बालेनले भ्रमण तालिका लामो नराख्न र एजेन्डामा मात्रै प्राथमिकता दिन आग्रह गरेका थिए।

काठमाण्डुस्थित भारतीय दूतावासले दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेन मंसिर ७ गते राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनको सम्मानमा गार्ड अफ अनरको कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन्।

तर, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँगको शिष्टाचार भेट भने प्रधानमन्त्री स्वदेश फर्कनुअघि अन्तिममा हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

मंसिर ७ गते बिहान प्रधानमन्त्री बालेनले भारतीय प्रधानमन्त्री मोदीसँगै दिवाभोज गर्ने कार्यक्रम छ। मोदीले नेपाली प्रधानमन्त्रीको सम्मानमा उक्त दिवाभोजको व्यवस्था गरेको बताइएको छ।

खानापछि मोदीसँग वान टु वान वार्ता

मंसिर ७ गते दिवाभोजपछि प्रधानमन्त्री बालेन र मोदीबीच वान टु वान वार्ता हुनेछ। उक्त वार्ताका लागि करिब आधा घण्टाभन्दा बढी समय छुट्याइएको छ।

‘भ्रमण तालिकामा केही समय लम्बिन सक्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘दुई प्रधानमन्त्रीको एकल भेटपछि सामूहिक रूपमा सहमतिका सम्भावित विषयमा छलफल हुन्छ।’

मोदी र बालेनबीचको भेटपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ। नेपालबाट गएको प्रतिनिधिमण्डल र भारतीय प्रतिनिधिमण्डलबीच परिचयात्मक कार्यक्रम तथा भेटघाट हुनेछ। त्यही भेटमा विभिन्न एजेन्डामा छलफल तथा सहमति हुने कार्यक्रम छ।

‘उक्त भेटवार्तामै सहमति र सम्झौताबारे निर्णय हुनेछन्। सुरुमा प्रधानमन्त्रीहरू वान टु वान वार्ता गर्नुहुन्छ। त्यसपछि सहमति र औपचारिक कार्यक्रमतर्फ हुन्छ,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘यी सबै वार्ता र एजेन्डामा सहमति हैदरावाद हाउसमै गर्ने तयारी भइरहेको छ। त्यही बेला धेरै सम्झौतामा सहमतिको तयारी भएको छ।’

मोदीलाई निम्तो

प्रधानमन्त्री वालेन्द्र र भारतीय प्रधानमन्त्री मोदीबीचको एकल भेटवार्तामै नेपाल भ्रमणको निम्तो दिने तयारी गरिएको छ। नेपाल र भारतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रधानमन्त्री वालेन्द्रले मोदीलाई नेपाल भ्रमणको निम्तो दिने भएका छन्।

भारतीय प्रधानमन्त्री मोदी नेपालका धार्मिक तथा आध्यात्मिक स्थलप्रति विशेष रुचि राख्ने नेता हुन्। उनले यसअघि पशुपतिनाथ र मुक्तिनाथ दर्शन गरिसकेका छन्। उनी एक पटक गौतम बुद्धको जन्मथलो लुम्बिनी जान चाहन्छन्।

त्यहीअनुरूप प्रधानमन्त्री वालेन्द्रले उनलाई मोदीलाई निम्तो दिने तयारी गरेका हुन्। मोदी एक पटक नेपाल आउन इच्छुक रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

संयुक्त पत्रकार सम्मेलन

सहमति र सम्झौतामा हस्ताक्षरपछि मंसिर ७ गते दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार पत्रकार सम्मेलनमा भारतका सरकारीसहित प्रमुख सञ्चारमाध्यमका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

‘दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिँदै छ। तर, प्रश्नोत्तर भने हुँदैन। प्रधानमन्त्रीहरूले सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्रीद्वयको पत्रकार सम्मेलनमा प्रश्नोत्तरका लागि समय नहुने विदेश सचिव विक्रम मिस्रीले जवाफ दिनुहुनेछ,’ दूतावासका अर्का अधिकारीले भने ।

औपचारिक वार्तामा पश्चिमतर्फको नयाँ हवाई रुट, नेपाल वायुसेवा निगमको उडान सञ्चालन, व्यापारिक क्षेत्रका समस्या, सीमा विवाद, जलविद्युत् आयोजनासहित विकास योजनामा देखिएका अवरोध र नयाँ २ खर्ब भारू आर्थिक सहायताबारे छलफल तथा निर्णय हुने बताइएको छ।

मंसिर ७ मै फर्किने

वालेन्द्र मंसिर ७ गते नै स्वदेश फर्किने तयारीमा छन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्रीले तीनदिने भ्रमणको निम्तो दिएका थिए। तर प्रधानमन्त्री वालेन्द्रले दुई दिनमै यात्रा टुंग्याउने योजना बनाएका छन्। भ्रमणका क्रममा उनी दिल्लीबाहिर जाने कार्यक्रम छैन।

‘भ्रमण तालिकामा कुनै फेरबदल नभए अहिलेलाई ४:५० बजे प्रधानमन्त्री नेपाल फर्कनुहुन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दिल्बाट नेपाल वायुसेवा निगमको उडानमार्फत प्रधानमन्त्रीज्यूको टोली नेपाल फर्कनेछ।’

नेपालका प्रधानमन्त्रीमध्ये वालेन्द्रको यो विदेश भ्रमण सबैभन्दा छोटो हुने देखिएको छ। छोटो भ्रमणमा उठाइने एजेन्डा र उपलब्धिले बालेनको सफलता निर्धारण गर्ने पूर्वराजदूत डा. शंकर शर्मा बताउँछन्।