इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र पत्नी बुशरा बीबीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गर्दै देशका तीनवटा प्रमुख अदालतका प्रधानन्यायाधीशलाई पत्र लेखेका छन्।
उनले चिकित्सकहरूले आफूलाई ब्रेन ह्यामरेज (मस्तिष्कमा रक्तस्राव) वा हृदयाघात हुन सक्ने जोखिमबारे चेतावनी दिएको दाबी गरेका छन्। जेलमा आफूलाई दैनिक २२ घण्टासम्म एक्लै राख्ने गरिएको आरोप लगाउँदै उनले अब जीवित फर्किन कठिन हुने अवस्था आएको बताएका छन्।
इमरान सन् २०२३ को अगस्टदेखि तोशाखाना मुद्दामा रावलपिन्डीस्थित अदियाला जेलमा बन्दी छन्। उनीसँग भेटघाट गर्न नपाएपछि उनका दिदीबहिनीहरूले आन्दोलनसमेत गरेका थिए।
परिवार र वकिलसँग भेटघाटमा समेत प्रतिबन्ध
इमरानले पाकिस्तानको संघीय संवैधानिक अदालत, सर्वोच्च अदालत र इस्लामाबाद उच्च अदालतका प्रधानन्यायाधीशलाई पत्र पठाएका हुन्।
उनका वकिल सलमान सफदरले सामाजिक सञ्जाल एक्समार्फत् ती पत्र सार्वजनिक गरेका छन्। पत्रमा इमरानले आफूलाई परिवारका सदस्य र वकिलसँग भेट्न, छोराहरूसँग फोनमा कुरा गर्न, पुस्तक पढ्न तथा टेलिभिजन हेर्नसमेत अनुमति नदिइएको आरोप लगाएका छन्।
यस वर्ष आफ्ना वकिललाई आफूसँग जम्मा चारपटक मात्रै भेट्न दिइएको उनले बताएका छन्। । त्यस्तै, पत्नी बुशरा बीबीका वकिललाई पनि उनीसँग एकपटक मात्रै भेट्न अनुमति दिइएको उनले खुलाएका छन् ।
हरेक साता पत्नीसँग हुने भेटघाटसमेत कुनै कारण नखुलाई रोकिएको इमरानको भनाइ छ। उनले आफ्ना दिदीबहिनीहरू हिरासतमा रहे पनि उनीहरूसँग भेट्न नदिइएको आरोपसमेत लगाएका छन्।
इमरानलाई सन् २०२४ को मे महिनामा भिडियो कन्फरेन्समार्फत सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।
‘मेडिकल बोर्डले मानसिक समस्या स्वीकार गरेको थियो’
इमरानका अनुसार जेलको मेडिकल बोर्डले उनको मानसिक स्वास्थ्यमा समस्या रहेको स्वीकार गरेको थियो। बोर्डले पत्नी र परिवारका सदस्यसँग बढी भेटघाटको व्यवस्था गर्न तथा पुस्तक पढ्न र टेलिभिजन हेर्न पाउने सुविधा दिन सिफारिस गरेको थियो। तर, ती सिफारिस कार्यान्वयन नगरिएको उनको आरोप छ।
पत्रमा उनले लेखेका छन्,‘जेलमा कसैलाई मसँग कुरा गर्न वा मेरो अभिवादनको जवाफ दिनसमेत अनुमति छैन। मैले उनीहरूलाई सलाम गर्दा वा कुरानका कुनै आयत पढ्दासमेत कसैले जवाफ दिँदैन।’
इमरानले आफूलाई लगाइएका प्रतिबन्ध जानाजानी भएको दाबी गरेका छन्। आफ्नो स्वास्थ्य बिगार्ने र मानसिक रूपमा कमजोर बनाउने उद्देश्यले यस्तो व्यवहार गरिएको उनको आरोप छ।

दाहिने आँखाको ८५ प्रतिशत ज्योति गुम्यो
इमरानले गत फेब्रुअरी १० मा आफ्नो वकिलसँगको भेटका क्रममा दाहिने आँखाको ८५ प्रतिशत ज्योति गुमिसकेको जानकारी पाएको बताएका छन्।
त्यतिबेला आफ्नो परिवार र कानुनी सल्लाहकारलाई समेत आँखाको अवस्थाबारे जानकारी नदिइएको उनको आरोप छ।
उनले जेलमा रहँदा आफ्नो रक्तचापसमेत निरन्तर बढेको बताएका छन्। उनका अनुसार सुरुमा १३० देखि १५० सम्म रहेको रक्तचाप पछि १७० पुगेको थियो। नोभेम्बर १० मा भने १९२ र १९३ सम्म पुगेको उनले पत्रमा उल्लेख गरेका छन्।
पत्नीको आँखाको ज्योति गुम्ने खतरा
इमरानले पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाका कारण अदालतहरूलाई पत्र लेख्ने निर्णय गरेको बताएका छन्।
उनका अनुसार बुशराको आँखाको रेटिनामा गत अप्रिलमा समस्या देखिएको थियो। त्यसपछि उनको आँखाको जटिल शल्यक्रिया गरिएको थियो। उक्त शल्यक्रिया गोप्य रूपमा गरिएको र त्यसपछि बुशरालाई पुनः एकान्त कारागारमा पठाइएको इमरानको आरोप छ।
यसै महिना पत्नीसँग भेट हुँदा बुशराले उज्यालोसमेत सहन नसक्ने र आँखा खोल्नसमेत नसक्ने अवस्था देखिएको उनले बताएका छन्। उनले तत्काल दोस्रो शल्यक्रिया नगरिए बुशराको आँखाको ज्योति सधैँका लागि गुम्न सक्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया