तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन

तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाण्डुका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ।

मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो।

लामो बिदाका कारण रोकिएका स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन एकैपटक धेरै बिरामी अस्पताल पुग्दा अस्पताल परिसरमा चहलपहल बढेको छ। विशेषगरी ओपीडी सेवा लिन आउने बिरामीको चाप बढी देखिएको छ।

अस्पतालमा बिरामीको चाप बढेसँगै टिकट काट्न, सेवा शुल्क भुक्तानी गर्न, चिकित्सकसँग जाँच गराउन र प्रयोगशालाको रिपोर्ट लिन सर्वसाधारणले घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था छ। सामान्य स्वास्थ्य सेवा लिनसमेत लामो समय कुर्नुपर्दा बिरामी तथा कुरुवाले सास्ती भोग्नुपरेको छ।

सरकारी अस्पतालमा बिरामीको अत्यधिक चापसँगै व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहमा देखिएका समस्याले सर्वसाधारणलाई थप असहज बनाएको छ। टिकट, भुक्तानी र रिपोर्ट वितरण प्रक्रियालाई व्यवस्थित तथा सहज बनाउन नसक्दा अस्पतालमा उपचारका लागि आउने बिरामीले अनावश्यक समय खर्चिनुपर्ने अवस्था देखिएको छ।

सरकारी अस्पतालमा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जनशक्ति, सेवा प्रवाह र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।

तस्बिर :  नेपाल फोटो लाइब्रेरी