काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।
सरकार सम्हालेको ८ महिनापछि भारत जान लागेका शाहको दुई दिने भ्रमण कुनै बहालवाला नेपाली प्रधानमन्त्रीले गरेको सबैभन्दा छोटो औपचारिक द्विपक्षीय यात्रा हुनेछ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शाह प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक द्विपक्षीय भ्रमण हो ।
अहिलेसम्म सार्वजनिक कार्यतालिका अनुसार प्रधानमन्त्री करिब साढे २५ घण्टा नयाँदिल्लीमा रहनेछन्। उनी नयाँदिल्लीबाट अन्य सहरमा जाने कार्यक्रमसमेत छैन।
प्रधानमन्त्री शाह नेपाली समयअनुसार मंसिर ६ गते दिउँसो करिब ३ बजे नयाँ दिल्लीमा अवतरण हुनेछन्। उनको स्वदेश फिर्ती भारतीय समयअनुसार मंसिर ७ गते दिउँसो करिब ३ बजे हुनेछ । यस हिसाबले उनको जम्मा दिल्ली बसाइको समय २५ देखि साढे २५ घण्टा हुनेछ ।
यस भ्रमणको विशेषता अवधि छोटो हुनुमा मात्रै सीमित छैन । विगतमा हुने गरेको अर्को परम्परा पनि तोडिँदैछ। विगनमा कतिपय नेपाली प्रधानमन्त्रीको भ्रमणमा नयाँदिल्लीबाहिरका सहरमा पनि हुने गरेको थियो । तर यस पटक शाहको भ्रमण नयाँदिल्लीमै सीमित हुने छ ।
यसअघिका भ्रमणमा नयाँदिल्लीबाहेक अन्य भारतीय सहर, सांस्कृतिक-धार्मिकस्थल, औद्योगिक क्षेत्र र विकास आयोजनाको अवलोकन पनि समेटिने गरेको थियो । तर यसपटक बालेनको प्रस्तावित कार्यक्रम नयाँदिल्लीमै सीमित छ ।
शाहको भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग करिब ३० मिनेट एकल भेटवार्ता हुनेछ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाहको भ्रमणको अवधि छोटो भएपछि यसअघि नेपालका प्रधानमन्त्रीले कति पटक र कति दिन भारत भ्रमण गरेका थिए भन्ने चासो बढेको छ ।
प्रधानमन्त्रीका रूपमा सबैभन्दा धेरै पटक भारत भ्रमण गर्नेमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा छन् । उनले प्रधानमन्त्रीका रुपमा पाँच पटक भारत भ्रमण गरेका छन् । उनी छोटो-छोटो अवधि पाँच पटक नै प्रधानमन्त्री बनेका थिए ।
यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार पटक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन पटक भारत भ्रमण गरेका छन् ।
तर पूर्वप्रधानमन्त्रीहरूले यसअघि गरेका सबै भारत भ्रमण राजकीय वा औपचारिक द्विपक्षीय मात्रै थिएनन् । कतिपय भ्रमण प्रधानमन्त्रीका रूपमा वा बहुपक्षीय सम्मेलनमा भाग लिने क्रममा भएका थिए ।
भारतको लामो भ्रमण पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले गरेका छन् । उनले २०७२ साल फागुन ७-१२ सम्म छ दिने भ्रमण गरेका थिए । त्यसक्रममा उनले नयाँदिल्लीबाहेक उत्तराखण्डको देहरादून, गुजरातको भुज र महाराष्ट्रस्थित मुम्बईको पनि भ्रमण गरेका थिए ।
पाँच पटक प्रधानमन्त्री भएका देउवा नेपाली नेतामध्ये सबैभन्दा बढी भारत भ्रमण गर्नेमा पर्छन् । देउवाले सबैभन्दा पहिले २०५२ माघ २८ देखि फागुन ५ सम्म भारतको औपचारिक सद्भावना भ्रमण गरेका थिए । उनले दोस्रो भ्रमण २०५८ चैत ७–१२ र तेस्रो भ्रमण २०६१ भदौ २३–२७ मा गरेका थिए ।
देउवाले २०७४ साल भदौ ७-११ मा भारतको चौथो भ्रमण गरे। त्यसक्रममा उनले राजधानी नयाँदिल्लीसँगै तेलङ्गाना, आन्ध्र प्रदेश र बिहार राज्यको पनि भ्रमण गरेका थिए ।
देउवाले भारतको पाँचौँ भ्रमण २०७८ चैत १८–२० मा गरेका थिए । यसरी देउवाले प्रधानमन्त्रीका रूपमा पाँच पटक भारत भ्रमण गरे । यी पाँच भ्रमणको अवधि जोड्दा जम्मा २६ दिन हुन आउँछ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले प्रधानमन्त्रीका रूपमा चार पटक भारतको भ्रमण गरेका छन् । २०६५ मा पहिलोपटक भारत गएका प्रचण्डले २०७३ मा दुईपटक र २०८० मा एकपटक भारत भ्रमण गरेका छन् ।
२०७३ मा प्रधानमन्त्री बनेपछि प्रचण्डले पहिलो विदेश भ्रमणका रूपमा भारत रोजेका थिए । त्यही वर्ष प्रचण्डले भदौ २९-असोजसम्म उनले भारत भ्रमण गरेका थिए ।
उनले भदौ ३०–असोज २ २०७३मा दोस्रो पटक भारतको भ्रमण गरे । त्यसको एक महिनापछि असोज २९ र ३० मा गोवामा भएको दुई दिने पहिलो ब्रिक्स–बिमस्टेक नेताहरूको सम्मेलनमा पनि सहभागी हुन उनी भारत गएका थिए । यो भ्रमण द्विपक्षीय राजकीय भ्रमण नभई बहुपक्षीय सम्मेलनमा सहभागिताका लागि थियो । यस्तै १८ जेठ, २०८० प्रचण्डले चौथो पटक भारत भ्रमण गरेका थिए ।
ओलीले प्रधानमन्त्रीका रूपमा तीन पटक भारत भ्रमण गरेका छन् । उनका भ्रमणमध्ये दुईवटा राजकीय थियो भने अर्को भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिताका लागि थियो ।
ओलीले ७–१२ फागुन, २०७२मा प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा भारत गएका थिए । २०७२मा संविधान जारी भएपछि भारतसँगको सम्बन्धमा तनाव र नाकाबन्दीको अवस्था कायम रहेकै बेला उनले भारत भ्रमण गरेका थिए ।
त्यतिबेला उनले उत्तराखण्डको टिहरी जलविद्युत् आयोजना, गुजरातको भुज र मुम्बईको पनि भ्रमण गरेका थिए । यो भ्रमण ६ दिन लामो थियो ।
२३–२५ चैत, २०७४मा दोस्रो कार्यकालमा प्रधानमन्त्री बनेपछि ओली भारतको राजकीय भ्रमणमा गएका थिए । त्यसपछि उनले २३–२५ चैत २०७४ र जेठ १६–१७, २०७६मा पनि भारतको भ्रमण गरेका थिए ।
ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा १६ र १७, जेठ २०७६ सहभागी हुन दुई दिनका लागि भारत गएका थिए । यो औपचारिक राजकीय भ्रमण नभई शपथग्रहण समारोहमा सहभागिताका लागि भएको भ्रमण थियो ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गरेका थिए । सन् २०६३मा जेठमा प्रधानमन्त्री बनेपछि उनले भारतलाई पहिलो औपचारिक विदेश भ्रमणको गन्तव्य बनाएका थिए ।
कोइरालाले प्रधानमन्त्रीका रूपमा भारतको तीनपटक औपचारिक भ्रमण गरेका थिए । कोइरालाले १९–२४ मंसिर, २०४८ र १६–२२ साउन, २०५७मा भारतकोसद्भावना भ्रमण गरेका थिए भने २३–२६ जेठ २०६३मा औपचारिक भ्रमण गरेका थिए ।
२०४६ पछि नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापित भएयता भारतसँग प्रधानमन्त्रीस्तरको भ्रमण निरन्तर रहँदै आएको छ ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पनि प्रधानमन्त्रीका रूपमा भारतको एकपटक भ्रमण गरेका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन १२ र १३ जेठ, २०७१ म भारत गएका थिए । तर प्रधानमन्त्रीमध्ये झलनाथ खनाल प्रधानमन्त्री हुँदा भारतबाट औपचारिक निमन्त्रणा नै आएको थिएन ।
यस अवधिमा भारत भ्रमण गरेका अन्य प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराई, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायत पर्छन् ।


प्रतिक्रिया