काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३.५ ओभरमा ९ रन जोड्दा तीन विकेट गुमाएको छ।
सुदूरपश्चिमका ओपनर जर्ज मुन्से पहिलो बलमै रुबेन ट्रम्पलम्यानको बलमा बोल्ड भए। त्यसपछि थानुका डाब्रे तीन रन बनाएर ट्रम्पलम्यानकै बलमा आउट भए भने विनोद भण्डारी तीन रनमा अभिषेक गौतमको बलमा क्याच आउट भए।

कप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा र ईशान पाण्डे खाता नखोली क्रिजमा छन्। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले दुई तथा अभिषेक गौतमले एक विकेट लिएका छन्।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेलको विजेताले आगामी शनिबार हुने फाइनलमा सिधै स्थान बनाउनेछ। पराजित टोलीले भने बिहीबार हुने दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
लुम्बिनीले लिग चरणमा पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। पाँच जित र दुई हारसहित १० अंक जोडेको सुदूरपश्चिम दोस्रो भएको थियो।
गत संस्करणको फाइनलमा पनि यी दुई टोली भिडेका थिए। त्यसबेला लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो।
सुदूरपश्चिम यसअघि दुई पटक फाइनल पुगे पनि उपविजेतामै सीमित भएको थियो। यसपटक पहिलो क्वालिफायर जितेर लगातार तेस्रो पटक फाइनल पुग्ने र पहिलो उपाधि जित्ने लक्ष्यमा छ। लुम्बिनी भने उपाधि रक्षा गर्ने अभियानमा छ।


प्रतिक्रिया