दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन परिषद्ले बिहीबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै तयारीका विभिन्न पक्ष सार्वजनिक गरेको हो।

राष्ट्रिय खेलकुद परिषद्को १२१औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८३ मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। समापन समारोह पनि मंसिर २७ गते सोही रंगशालामा आयोजना गरिनेछ।

प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गत विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सातवटै प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीबाट ६६० जना सहभागी हुने अनुमान गरिएको छ।

जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक तथा अन्य प्राविधिकसहित ठूलो संख्यामा जनशक्ति परिचालन हुनेछ। परिषद्का अनुसार प्रतियोगितामा कुल एक हजार ३० जना निर्णायक रहनेछन्।

प्रतियोगिताका खेलहरू सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ गरी विभिन्न स्थानमा सञ्चालन गरिनेछ।

दसौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

रजत र कांस्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको परिषद्ले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी अघि बढाइएको जनाउँदै खेलाडी तथा खेलकर्मीको सहभागितामा राष्ट्रिय खेलकुदको महत्त्वलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।