काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पुस २० गते काठमाण्डुमा प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ ।
सन् २००३ मा स्थापना भएको एनआरएनएको २ दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो ।
एनआरएनएका महिला उपाध्यक्ष टीका गुरुङले ‘महिला सशक्तीकरणको आधार: रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ नेपाल सरकारसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
‘विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई एउटै मञ्चमा जोडेर अनुभव, ज्ञान र सीप आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य हो,’ उनले भने, ‘साथै महिला सशक्तीकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यावहारिक चुनौती पहिचान गरी समाधानका लागि आवश्यक पहल र कार्यदिशा तय गरिनेछ ।’
गुरुङका अनुसार सम्मेलनमा महिला सशक्तीकरणसँग प्रत्यक्ष सरोकार राख्ने ४ प्रमुख विषयगत क्षेत्रमा केन्द्रित रहेर छलफल, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिनेछ । महिला सशक्तीकरणसँग सम्बन्धित विद्यमान ऐन, निर्देशिका, नीति तथा संस्थागत संरचनाको समीक्षा गरी सुधारका सम्भावित क्षेत्र पहिचान गरिनेछ । विशेषगरी डायस्पोरामा रहेका नेपाली महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयलाई प्राथमिकता दिइनेछ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार तथा मानसिक स्वास्थ्य र स्वदेश फर्किएपछि सम्मानजनक पुन: एकीकरणका विषयमा छलफल हुनेछ । यस प्रक्रियामा एनआरएनएको भूमिका र आवश्यक सहकार्यका क्षेत्रसमेत पहिचान गरिने उनले बताए ।
‘स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यावसायिक साझेदारी र सहकार्य विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि र महिला उद्यमशीलताको विकासका विषय पनि सम्मेलनको प्राथमिकतामा रहनेछन्,’ गुरुङले भने, ‘नेपाली मौलिक उत्पादनको उत्पादन, प्रवर्द्धन, बजारीकरण तथा अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता विस्तार गर्ने सम्भावनाबारे समेत विमर्श गरिनेछ ।’
उनका अनुसार रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीलगायत प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेका प्रभाव, जलवायु न्याय तथा विपद् व्यवस्थापनमा महिलाको भूमिकाबारे पनि छलफल गरिनेछ । लैंगिक हिंसा तथा मानव बेचबिखनविरुद्ध महिला र बालबालिकाको सुरक्षा एवं संरक्षणका विषयलाई समेत प्राथमिकता दिइनेछ ।
महिला सशक्तीकरणबिना राष्ट्रको दिगो तथा समावेशी समृद्धि सम्भव नहुने मान्यताका साथ आयोजना हुन लागेको सम्मेलनले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका प्रेरणादायी अनुभव र सफलताका कथालाई उजागर गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी नेपालका सातै प्रदेश तथा स्थानीय तहमा क्रियाशील महिला उद्यमीलाई पुँजी, सीप, प्रविधि र बजारसँग जोड्ने सेतुका रूपमा सम्मेलनले भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएको छ ।
सम्मेलनलाई सफल र प्रभावकारी बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, महिला उद्यमी, विज्ञ, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिता, सहयोग र सहकार्यका लागि एनआरएनएले आग्रह गरेको छ ।



प्रतिक्रिया