नेपालमा उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशतले बढ्यो

नेपालमा उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६ दशमलव ३७ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड डलर रहेको छ । उक्त सञ्चितिले १७ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालू खाता २ खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड बचतमा रहेको छ । यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको असोज महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको कुल खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रहेको छ भने राजस्व परिचालन २ खर्ब ९८ अर्ब ६१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै विस्तृत मुद्राप्रदाय ४ दशमलव ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २ दशमलव ८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव १ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव ७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ दशमलव ३ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २ दशमलव ७५ प्रतिशत रहेको छ भने ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर १ दशमलव ०१ प्रतिशत रहेको छ ।

त्यसैगरी वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३ दशमलव ०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६ दशमलव ३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।