चितवन– नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
घोप्टेभीरमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरण तथा पहिरो पन्छाउने कामका लागि सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जानकारी दिएका छन्।
उक्त समयमा पहिरोसँगै खस्ने जोखिममा रहेका ढुंगा र माटो हटाइनेछ। बिहीबारदेखि घोप्टेभीरमा पहिरो खस्न थालेको भए पनि निरन्तर पहिरो झरिरहेकाले पन्छाउने कार्यमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ ।




प्रतिक्रिया