काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम नपाल्ने आग्रह गरेका छन्।
गृहमन्त्री गुरुङले राजनीतिक दलको झोला बोकेर राजनीति गर्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।
सामाजिक सञ्जालमा लेल्दै उनले राष्ट्रसेवक कर्मचारीको काम देश र जनताको सेवा गर्ने भएको बताएका हुन्।
गुरुङले कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने, नेताको चाकडी गर्ने नभएको बताए लेखेका छन्, ‘हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौं–राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ । देशप्रति समर्पित भएर जनताको सेवा गर्ने।’
उनले थप लेखेका छन्, ‘यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ।’
गुरुङले पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिनेलाई कारबाही हुने स्पष्ट पारे। ‘आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन।’ उनले भने,‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो।’




प्रतिक्रिया