बालेनको भारत भ्रमण : नेपालको राजनीतिक पुस्तान्तरण र भारतको क्षेत्रीय रणनीतिक चासो

बालेनको भारत भ्रमण : नेपालको राजनीतिक पुस्तान्तरण र भारतको क्षेत्रीय रणनीतिक चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नोभेम्बर २२ र २३ मा भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण हो। यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गइसकेका छन्। जेन्जी आन्दोलनको पृष्ठभूमिमा नेपालको राजनीतिक नेतृत्वमा आएको परिवर्तन र नयाँ राजनीतिक शक्तिको उदयका बीच हुन लागेको यस भ्रमणले स्वाभाविक रूपमा नेपाल र भारत दुवैतर्फ विशेष महत्त्व पाएको छ।

भ्रमणको सम्भावित कार्यसूची, नेपालले भारतसमक्ष राख्ने प्राथमिकता, आर्थिक सहयोग, ऊर्जा व्यापार, पूर्वाधार विकास, हवाई सम्पर्क र दुई देशबीच लामो समयदेखि थाती रहेका विषयहरूबारे नेपालमा व्यापक बहस भइरहेको छ। तर, यस बहसमा एउटा महत्त्वपूर्ण पक्ष तुलनात्मक रूपमा ओझेलमा परेको देखिन्छ-भारतका लागि बालेन शाहको भ्रमणको रणनीतिक महत्त्व के हो ? नयाँ नेपाली नेतृत्वसँग सम्बन्ध विस्तार गर्न भारत किन यति सक्रिय देखिन्छ ? नेपालको राजनीतिक पुस्तान्तरणलाई भारतले आफ्नो क्षेत्रीय कूटनीतिक रणनीतिसँग कसरी जोडेर हेरिरहेको छ ?

यो भ्रमणलाई नेपालको अपेक्षा र प्राथमिकताका दृष्टिकोणबाट मात्र होइन, भारतको क्षेत्रीय रणनीति, छिमेक पहिलो नीति Neighbourhood First Policy र नेपालसँगको बदलिँदो द्विपक्षीय सम्बन्धको सन्दर्भबाट पनि विश्लेषण गर्न आवश्यक छ। यसका दुई महत्त्वपूर्ण आयाम छन्प-हिलो, दक्षिण एसियाको क्षेत्रीय कूटनीतिक परिवेश र दोस्रो, नेपालमा उदाउँदै गरेको नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध स्थापित गर्ने भारतको चाहना।

क्षेत्रीय आयाम : भारतको छिमेक पहिलो नीति र पहिलो भ्रमणको कूटनीति

भारतले आफ्नो विदेश नीतिमा छिमेक पहिलो नीतिलाई विशेष प्राथमिकता दिँदै आएको छ। यस नीतिको एउटा महत्त्वपूर्ण पक्ष छिमेकी मुलुकका राजनीतिक नेतृत्वसँग प्रारम्भिक चरणमै उच्चस्तरीय सम्बन्ध स्थापित गर्नु हो। छिमेकी मुलुकका नयाँ राष्ट्रप्रमुख वा सरकार प्रमुखको पहिलो विदेश भ्रमण भारतमा होस् भन्ने भारतको कूटनीतिक चाहनालाई पनि यसै सन्दर्भमा बुझ्न सकिन्छ।

यसको अर्थ भारतले औपचारिक रूपमा आफ्ना सबै छिमेकी मुलुकका नेताहरूको पहिलो विदेश भ्रमण भारतमै हुनुपर्ने कुनै बाध्यकारी नियम बनाएको छ भन्ने होइन। तर, नयाँ राजनीतिक नेतृत्वसँग प्रारम्भिक सम्बन्ध स्थापित गर्ने र आफ्नो क्षेत्रीय प्राथमिकतालाई कूटनीतिक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा पहिलो भ्रमणलाई भारतले विशेष महत्त्व दिँदै आएको छ।

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके यसको एउटा उदाहरण हुन्। सन् २०२४ मा राष्ट्रपति निर्वाचित भएपछि उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका थिए। डिसेम्बर १५ देखि १७ सम्म भएको उक्त भ्रमणलाई भारतले आफ्नो छिमेक पहिलो नीति र हिन्द महासागर क्षेत्रको रणनीतिक दृष्टिकोणसँग समेत जोडेर प्रस्तुत गरेको थियो।

बंगलादेशको सन्दर्भमा भने परिस्थिति केही फरक देखिएको छ। प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएपछि भारतले उनलाई द्विपक्षीय भ्रमणका लागि निमन्त्रणा दिएको थियो। तर, पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतमा उपस्थिति, सुपुर्दगीसम्बन्धी विवाद र दुई देशबीच विकसित अविश्वासका कारण प्रस्तावित भ्रमणले अपेक्षित गति लिन सकेको छैन। भारत र बंगलादेशबीच सम्बन्ध सामान्यीकरणको प्रयास जारी रहे पनि भ्रमणको मिति र वातावरणबारे अनिश्चितता कायम छ।

यही क्षेत्रीय परिवेशमा बालेन शाहको भारत भ्रमणलाई हेर्न आवश्यक छ। भारतले नयाँ नेपाली प्रधानमन्त्रीलाई पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि आमन्त्रण गर्नु र भ्रमणको तयारीमा देखाएको सक्रियताले नयाँ राजनीतिक परिस्थितिमा नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउन खोजेको संकेत गर्छ।

यद्यपि, बंगलादेशसँग भारतको सम्बन्धमा देखिएको असहजता र नेपालको नयाँ नेतृत्वप्रति भारतले देखाएको सक्रियताबीच प्रत्यक्ष कारणात्मक सम्बन्ध स्थापित गर्नु उचित हुँदैन। नेपाल-भारत र भारत–बंगलादेश सम्बन्धका ऐतिहासिक, भौगोलिक तथा राजनीतिक आधार फरक छन्। तथापि, दक्षिण एसियाली कूटनीतिमा यस्ता उच्चस्तरीय भ्रमणको प्रतीकात्मक सन्देश सीमापार पनि पुग्छ। काठमाडौंमा नयाँ नेतृत्वलाई दिइएको प्राथमिकता र नयाँ दिल्लीले देखाएको कूटनीतिक तत्परताले ढाकासहित क्षेत्रका अन्य राजधानीमा पनि भारतको छिमेक नीतिबारे एउटा सन्देश प्रवाह गर्छ।

यस अर्थमा, बालेनको भ्रमण केवल दुई देशबीचको द्विपक्षीय सम्बन्धको विषय मात्र होइन। यो भारतले आफ्नो छिमेकसँग कस्तो सम्बन्ध स्थापित गर्न चाहन्छ भन्ने क्षेत्रीय कूटनीतिक सन्देशको एउटा महत्त्वपूर्ण हिस्सा पनि हो।

द्विपक्षीय आयाम : नेपालको राजनीतिक पुस्तान्तरण र भारतको नयाँ चासो

नेपाल र भारतबीचको सम्बन्ध सभ्यतागत, सांस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक रूपमा अत्यन्त गहिरो छ। खुला सीमा, जनस्तरको सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा र सुरक्षासम्बन्धी अन्तरनिर्भरताले दुई देशलाई विशिष्ट सम्बन्धमा बाँधेको छ। तर, यति गहिरो सामाजिक तथा ऐतिहासिक सम्बन्ध हुँदाहुँदै पनि सरकारहरूबीचको राजनीतिक सम्बन्ध सधैँ सहज र विश्वासिलो रहन सकेको छैन।

यसको एउटा उदाहरण केपी शर्मा ओलीको पछिल्लो प्रधानमन्त्री कार्यकाल हो। सन् २०२४ मा प्रधानमन्त्री बनेका ओलीले आफ्नो पछिल्लो कार्यकालमा भारतको औपचारिक द्विपक्षीय भ्रमण गर्न पाएनन्। यद्यपि, उनले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्युयोर्क र बिमस्टेक शिखर सम्मेलनका क्रममा बैंककमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। ओलीको यस कार्यकालमा भारत भ्रमण हुन नसक्नुले दुई देशबीचको राजनीतिक सम्बन्धमा रहेको असहजतालाई पनि प्रतिबिम्बित गरेको थियो। स्मरण रहोस्, ओलीले यसअघिका दुई प्रधानमन्त्री कार्यकालमा भने सन् २०१६ र २०१८ मा भारतको भ्रमण गरेका थिए।

तर, बालेन शाह प्रधानमन्त्री बनेपछि भारतको व्यवहारमा देखिएको सक्रियता तुलनात्मक रूपमा फरक देखिन्छ। प्रधानमन्त्री नियुक्त भएपछि भारतले उनलाई भ्रमणका लागि निमन्त्रणा दिनु, उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउनु र भ्रमणलाई शीघ्र कार्यान्वयन गर्न खोज्नुले नयाँ नेपाली नेतृत्वसँग सम्बन्ध स्थापित गर्ने भारतको चाहनालाई संकेत गर्छ।

यसलाई बुझ्न नेपालको आन्तरिक राजनीतिक परिवर्तनलाई पनि हेर्नुपर्छ। जेन्जी आन्दोलनले नेपालको राजनीतिमा केवल सरकार परिवर्तन गरेको छैन, यसले लामो समयदेखि राज्यसत्ता, राजनीतिक दल र विदेश नीतिमा प्रभाव राख्दै आएका परम्परागत राजनीतिक नेतृत्वको वर्चस्वलाई समेत चुनौती दिएको छ। नयाँ पुस्ताको राजनीतिक आकांक्षा, प्रविधिमैत्री नेतृत्व, सुशासनप्रतिको अपेक्षा र पुरानो राजनीतिक अभ्यासप्रतिको असन्तुष्टिले नेपालको राजनीतिक संरचनामा पुस्तान्तरणको संकेत गरेको छ।

भारतले यस परिवर्तनलाई केवल नयाँ प्रधानमन्त्रीको आगमनका रूपमा नभई नेपाली राजनीतिमा भइरहेको व्यापक पुस्तान्तरणका रूपमा बुझ्न खोजेको देखिन्छ। नयाँ पुस्ताको उदयसँगै नेपालको विदेश नीति, क्षेत्रीय सम्बन्ध र विकास साझेदारीका प्राथमिकता कसरी परिवर्तन हुन सक्छन् भन्ने विषय भारतका लागि महत्त्वपूर्ण रणनीतिक चासो हो।

यस सन्दर्भमा बालेन शाहको व्यक्तित्व पनि उल्लेखनीय छ। उनी परम्परागत राजनीतिक पृष्ठभूमिबाट आएका नेता होइनन्। प्राविधिक तथा सहरी व्यवस्थापनको अनुभव, सामाजिक सञ्जाल र डिजिटल सञ्चारको प्रभावकारी प्रयोग, तुलनात्मक रूपमा कम बोल्ने तर निर्णायक छवि तथा नयाँ राजनीतिक पुस्ताको प्रतिनिधित्वले उनलाई परम्परागत नेपाली राजनीतिक नेतृत्वभन्दा फरक बनाएको छ। भारतमा अध्ययन तथा बसाइको अनुभवसमेत भएका बालेनलाई नयाँ दिल्लीले बुझ्न र उनीसँग राजनीतिक तथा व्यक्तिगत विश्वासको सम्बन्ध विकास गर्न खोज्नु अस्वाभाविक होइन।

त्यस्तै, संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उपस्थिति र नयाँ राजनीतिक नेतृत्वले प्राप्त गरेको जनमतले बालेनलाई भारतका लागि दीर्घकालीन राजनीतिक साझेदारका रूपमा बुझ्ने सम्भावना पनि बढाएको छ। नयाँ राजनीतिक शक्तिसँग सम्बन्ध विस्तार गर्नु भनेको वर्तमान सरकारसँग मात्र सम्बन्ध स्थापित गर्नु होइन, नेपालको आगामी राजनीतिक दिशासँग पनि संवाद कायम गर्नु हो।

यसअघि भारतीय जनता पार्टीको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतमा दिइएको स्वागत र राजनीतिक भेटघाटलाई पनि यही व्यापक सन्दर्भमा हेर्न सकिन्छ। यसले भारत नयाँ नेपाली राजनीतिक नेतृत्व र उदाउँदो राजनीतिक शक्तिसँग सम्पर्क विस्तार गर्न इच्छुक रहेको संकेत गर्छ। प्रधानमन्त्री बालेनको भ्रमण यस प्रक्रियालाई सरकार–सरकारबीचको औपचारिक सम्बन्धमा रूपान्तरण गर्ने अवसर पनि हो।

भारतका लागि बालेनलाई बुझ्ने अवसर

बालेन शाहको राजनीतिक शैली र निर्णय प्रक्रियाबारे भारतमा पर्याप्त जानकारी नहुन सक्छ। परम्परागत नेपाली राजनीतिक नेतृत्वसँग दशकौँदेखि काम गर्दै आएको भारतका लागि नयाँ पुस्ताको नेतृत्वसँग संवाद गर्ने शैली, प्राथमिकता र राजनीतिक दृष्टिकोण बुझ्नु आफैँमा चुनौतीपूर्ण विषय हो।

बालेनको व्यक्तित्व तुलनात्मक रूपमा कम बोल्ने र सार्वजनिक कूटनीतिमा कम अभिव्यक्त हुने खालको देखिन्छ। तर, उनको राजनीतिक उदय र संसद्मा प्राप्त बलियो समर्थनले उनलाई नेपालको राजनीतिक परिदृश्यमा निर्णायक स्थानमा पुर्‍याएको छ।

त्यसैले, भारतका लागि यो भ्रमण उनको सार्वजनिक व्यक्तित्वभन्दा पर पुगेर राजनीतिक दृष्टिकोण, विकासको अवधारणा, विदेश नीतिका प्राथमिकता र भारतसँगको सम्बन्धलाई हेर्ने सोच बुझ्ने अवसर पनि हो।

भारतले नेपालका परम्परागत राजनीतिक दल र नेतृत्वसँग लामो समयदेखि सम्बन्ध कायम गर्दै आएको छ। तर, नयाँ पुस्ताको उदयसँगै पुराना राजनीतिक सम्बन्ध र सम्पर्क संयन्त्र मात्र पर्याप्त नहुन सक्छन्। बदलिँदो राजनीतिक वास्तविकताअनुसार भारतले आफ्नो कूटनीतिक शैली र सम्बन्ध निर्माण गर्ने तरिकामा पनि अनुकूलन गर्नुपर्ने हुन्छ।

यस अर्थमा, बालेनको भ्रमण भारतका लागि नयाँ नेपाली राजनीतिक नेतृत्वसँग सम्बन्ध निर्माण गर्ने प्रारम्भिक अवसर हो। नेपालका लागि पनि भारतसँगको सम्बन्धलाई पुरानो राजनीतिक अविश्वास र परम्परागत कूटनीतिक अभ्यासभन्दा पर लगेर नयाँ आर्थिक तथा रणनीतिक साझेदारीमा रूपान्तरण गर्ने अवसर हो।

निष्कर्ष : नयाँ दिल्लीको प्राथमिकता र काठमाडौंको अवसर

बालेन शाहको भारत भ्रमणलाई केवल नेपालले भारतसँग राख्ने अपेक्षा, सम्भावित सम्झौता र आर्थिक सहयोगको दृष्टिकोणबाट मात्र विश्लेषण गर्नु पर्याप्त हुँदैन। यस भ्रमणमा भारतको क्षेत्रीय रणनीति, छिमेक पहिलो नीति, बंगलादेशसँगको सम्बन्धको पृष्ठभूमि र नेपालको राजनीतिक पुस्तान्तरणसँग जोडिएका महत्त्वपूर्ण कूटनीतिक आयामहरू पनि छन्।

भारतका लागि यो भ्रमण नयाँ नेपाली नेतृत्वसँग प्रारम्भिक विश्वास निर्माण गर्ने, नेपालको बदलिँदो राजनीतिक दिशा बुझ्ने र आफ्नो छिमेक नीतिलाई नयाँ वास्तविकताअनुसार अघि बढाउने अवसर हो। नेपालका लागि भने भारतसँगको सम्बन्धलाई राष्ट्रिय हित, सार्वभौमिकता र पारस्परिक सम्मानमा आधारित नयाँ चरणमा प्रवेश गराउने अवसर हो। यसै सन्दर्भमा, भारतको सक्रियतालाई नेपालको नयाँ राजनीतिक नेतृत्वमाथि प्रभाव स्थापित गर्ने प्रयासका रूपमा मात्र बुझ्नु हुँदैन। त्यसैगरी, भारतको कूटनीतिक प्राथमिकताले नेपालको स्वतन्त्र विदेश नीति र आफ्नो राष्ट्रिय हित निर्धारण गर्ने अधिकारलाई सीमित गर्न पनि सक्दैन। दुई देशबीचको दीर्घकालीन सम्बन्ध पारस्परिक विश्वास, समानता र व्यावहारिक सहकार्यमा आधारित हुनुपर्छ।

अन्ततः, बालेनको भारत भ्रमणको महत्त्व उनले भारतसँग के सम्झौता गर्छन् वा नेपालले के उपलब्धि हासिल गर्छ भन्ने प्रश्नमा मात्र सीमित छैन। यो भ्रमणले भारतले बदलिँदो नेपालको राजनीतिक यथार्थलाई कति आत्मसात् गर्छ र नयाँ नेपाली नेतृत्वसँग कस्तो सम्बन्ध निर्माण गर्न चाहन्छ भन्ने कुरा पनि उजागर गर्नेछ। बालेनका लागि यो भारतसँग सम्बन्धको नयाँ अध्याय सुरु गर्ने अवसर हो भने भारतका लागि बदलिँदो नेपालको राजनीतिक पुस्तान्तरणअनुसार आफूलाई अनुकूल बनाउने रणनीतिक अवसर हो।

लेखक कोइराला दक्षिण एसियाली विश्वविद्यालय, नयाँदिल्लीमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरिरहेका छन्।