्
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नयाँ दिल्ली जान लागेका हुन् ।
दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ । उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने छन् ।
विमानस्थलबाट प्रधानमन्त्री होटल ताज मानसिंह जानेछन्। त्यहाँ साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ।
आइतबार साँझ नै नेपाल र भारतका व्यवसायीहरूको विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाल तथा भारतका उद्योगीव्यवसायीहरूबीच व्यावसायिक सहकार्य र सहयोग आदानप्रदान हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।
त्यस क्रममा केही नयाँ परियोजनाहरूको उद्घाटन, केहीको शिलान्यास तथा विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार एक दर्जनभन्दा बढी परियोजनाको शिलान्यास तथा उद्घाटन हुनेछ। भ्रमणमा दुई देशबिचको आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारीलाई मुख्य प्राथमिकतामा राखिएको छ।
यसैगरी, भ्रमणका क्रममा अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास हुने तय भएको छ। सूचना प्रविधि, बन्दरगाहलगायत नयाँ क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ।
उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने तालिका छ।
प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डाहरू फहराइएका छन्।



प्रतिक्रिया