राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने

राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्। तर, विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने सामान्य अभ्यास प्रधानमन्त्री शाहले पालना गरेनन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे अहिलेसम्म औपचारिक वा अनौपचारिक कुनै पनि माध्यमबाट जानकारी गराएका छैनन्।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा राष्ट्रपतिलाई त्यसबारे जानकारी गराउने अभ्यास रहे पनि शाहले यसपटक त्यसो नगरेको राष्ट्रपति कार्यालयको भनाइ छ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदासमेत प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिएनन्।

रोचक पक्ष के छ भने नेपालका राष्ट्रपति पौडेललाई आफ्नो भ्रमणबारे जानकारी नगराएका प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग भने शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

भ्रमण कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३:१५ बजे राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनी स्वदेश फर्कने कार्यक्रम छ।

यसअघि भारत भ्रमणमा निस्किएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपति पौडेललाई जानकारी गराएरै भारत भ्रमणमा गएका थिए। पछिल्ला प्रधानमन्त्री केपी शर्मा ओली र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले भने भारत भ्रमण गरेनन्।