एनपीएलको चमक र चुनौती : लोकप्रियता बढ्दा कमजोरी पनि देखिए

एनपीएलको चमक र चुनौती : लोकप्रियता बढ्दा कमजोरी पनि देखिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ ।

दुई सिजन लगातार फाइनलमा पुगेर पराजित सुदूरपश्चिम रोयल्सले यसपटक उपाधि जित्दै आफूलाई अब्बल प्रमाणित गरेको छ ।

फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई एक पक्षीय रूपमा १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो ।

तेस्रो संस्करणको सबैभन्दा ठूलो विशेषता सुदूरपश्चिमको ऐतिहासिक उपाधि जिताइ मात्र होइन, प्रतियोगितामा देखिएको प्रतिस्पर्धा, विदेशी खेलाडीको प्रभाव, नेपाली खेलाडीको प्रदर्शन, दर्शकको उत्साह र लिगको व्यावसायिक विस्तार पनि हो ।

मुन्सी एक्लैले दिलाए उपाधि

फाइनलमा पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनाउँदै उपाधि जित्यो ।

स्कटल्यान्डका ब्याटर जर्ज मुन्सीले अविश्वसनीय ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाए । उनले १२ छक्का र चार चौका प्रहार गरे । उनलाई साथ दिएका ओपनर बिनोद भण्डारीले पनि २७ बलमा अविजित ३० रन बनाए ।

मुन्सीको यो प्रदर्शन एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर पनि हो । उनी फाइनलका निर्णायक खेलाडी मात्र बनेनन्, प्रतियोगिताको सबैभन्दा स्मरणीय प्रदर्शन गर्ने खेलाडीमध्ये एक बने ।

लोकप्रियता र व्यावसायिकताको नयाँ चरण

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन भएको थियो । आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा लिग चरणका २८ र प्लेअफका चार गरी कुल ३२ खेल खेलिए । सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भए ।

तेस्रो संस्करणमा अघिल्ला संस्करणको तुलनामा केही महत्त्वपूर्ण सुधार भएको छ । यसै संस्करणमा एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पायो भन पहिलोपटक डीआरएस लागू गरियो ।

यसका साथै अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता बढ्यो भने मैदानमा दर्शक क्षमता, प्रकाश व्यवस्था र प्रसारण सुविधामा सुधार गरिएको छ ।

विदेशी खेलाडीको संख्या बढाउने अवसर पनि तेस्रो संस्करणमा प्राप्त भएको छ । आईसीसीको मान्यतापछि यस संस्करणमा खेलाडीले बनाएका रन र लिएका विकेटले आधिकारिक टी–२० करियरको तथ्यांकमा स्थान पाएका छन् । यसले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेटको संरचनासँग जोड्ने महत्त्वपूर्ण उपलब्धि हासिल गरको छ ।

विशेषगरी डीआरएसको प्रयोग नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो । अम्पायरको निर्णयमाथि टोलीले चुनौती दिन पाउने भएपछि निर्णायक क्षणमा गलत निर्णयको जोखिम घटाउने अपेक्षा गरिएको थियो । यसले प्रतियोगिताको विश्वसनीयता र प्रसारण गुणस्तर बढाउन सहयोग पुर्‍यायो ।

सुदूरपश्चिम रोयल्स : निरन्तरताको प्रतिफल

तेस्रो संस्करणको सबैभन्दा सफल टोली सुदूरपश्चिम रोयल्स बनेको छ । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको छ ।

यस टोलीको सफलता आकस्मिक थिएन । लगातार तीन संस्करण फाइनल पुग्नुले टोलीको संरचना, खेलाडी छनोट, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमतालाई देखाउँछ ।

कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व सुदूरपश्चिमको सफलताको मुख्य आधार हो । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिन सक्ने दीपेन्द्रले टोलीलाई कठिन अवस्थामा सम्हाल्ने क्षमता देखाए । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भए ।

सुदूरपश्चिमको अर्को विशेषता सामूहिक प्रदर्शन थियो । विदेशी खेलाडीमा मात्र निर्भर नभई नेपाली खेलाडीले पनि निर्णायक भूमिका निर्वाह गरे । बिनोद भण्डारी, ईशान पाण्डे, हेमन्त धामी र अनिल खरेललगायत खेलाडीको योगदानले टोलीलाई सन्तुलित बनाएको थियो ।

अन्ततः फाइनलमा मुन्सी र भण्डारीको अविजित साझेदारीले सुदूरपश्चिमको लामो प्रतीक्षालाई ऐतिहासिक सफलतामा परिणत गर्‍यो ।

लुम्बिनी लायन्स : उत्कृष्ट लिग चरण, अन्तिमा निराशा

साविक विजेता लुम्बिनी लायन्सले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । लिग चरणमा सातमध्ये पाँच खेल जितेर एक खेलमा वर्षाका कारण अंक बाँडेको लुम्बिनी ११ अंकसहित पहिलो स्थानमा रह्यो ।

कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनीले ब्याटिङ र बलिङ दुवैमा सन्तुलन देखाएको थियो । निरोशन डिकवेला, डार्सी सर्ट, रुबेन ट्रम्पेलम्यान, सन्दीप जोरालगायत खेलाडीले टोलीलाई बलियो बनाएका थिए ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराएर फाइनल पुगेको लुम्बिनी लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा थियो । तर, फाइनलमा मुन्सीको विस्फोटक ब्याटिङ रोक्न नसक्दा उसको उपाधि रक्षा गर्ने सपना अधुरै रह्यो ।

लुम्बिनीको मुख्य कमजोरी फाइनलमा बलिङ र रणनीतिक नियन्त्रण गुमाउनु रह्यो । १५५ रनको लक्ष्य प्रतिस्पर्धात्मक भए पनि विपक्षी टोलीलाई विकेटविहीन राखेर लक्ष्य पूरा गर्न दिनु उसको लागि ठूलो निराशा बन्यो ।

चितवन राइनोज : नयाँ सम्भावना र नेपाली खेलाडीको उदय

तेस्रो संस्करणमा चितवन राइनोज पनि उल्लेखनीय टोलीका रूपमा देखियो । लिग चरणमा चौथो स्थान हासिल गरेको चितवनले प्लेअफमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै आफ्नो क्षमता प्रमाणित ग¥यो । प्रतियोगितामा पहिलोपटक क्वालिफायर–२ सम्म पुग्नु चितवनका लागि महत्त्वपूर्ण उपलब्धि बन्यो ।

तर, क्वालिफायर–२ मा सुदूरपश्चिमसँग तीन विकेटले पराजित भएपछि चितवनको यात्रा समाप्त भयो । चितवनको सबैभन्दा ठूलो उपलब्धि भने नेपाली तीव्र गतिका बलर रिजन ढकालको प्रदर्शन रह्यो । उनले प्रतियोगितामा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बने ।

उत्कृष्ट नेपाली खेलाडी घोषित भएका उनले कारसमेत जिते । यसले नेपाली बलरले अन्तर्राष्ट्रिय स्तरका ब्याटरविरुद्ध प्रभावकारी प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ ।

विदेशी स्टारको छायामा परेनन् घरेलु प्रतिभा

एनपीएलको तेस्रो संस्करणको सबैभन्दा सकारात्मक पक्ष नेपाली खेलाडीको प्रदर्शन रह्यो । प्रतियोगितामा विश्व क्रिकेटका चर्चित खेलाडी सहभागी भए पनि नेपाली खेलाडीले आफूलाई कमजोर साबित हुन दिएनन् । विशेषगरी ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरे ।

विशेषगरी १६ वर्षीय राहुल यादवको प्रदर्शन नेपाली क्रिकेटको भविष्यका लागि उत्साहजनक रह्यो । ट्यालेन्ट हन्टमार्फत जनकपुर बोल्ट्समा आबद्ध भएका उनले सात खेलमा १२ विकेट लिए । अनुभवी विदेशी खेलाडी सहभागी प्रतियोगितामा एक किशोर खेलाडीले यस्तो प्रदर्शन गर्नु नेपाली क्रिकेटको बलियो पक्ष हो ।

त्यस्तै, लोकेश बमले विराटनगरबाट २४२ रन बनाउँदै उत्कृष्ट नेपाली ब्याटरको पुरस्कार जितेका छन् । दीपेन्द्रसिंह ऐरीले ब्याटिङ र बलिङ दुवैमा योगदान दिएर प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार जिते ।

यसले एनपीएल विदेशी खेलाडीको प्रदर्शन हेर्ने प्रतियोगिता मात्र नभई नेपाली खेलाडीको क्षमता विकास गर्ने माध्यम पनि बनिरहेको देखाउँछ ।

विश्व क्रिकेटको अनुभव नेपाली मैदानमा

तेस्रो संस्करणमा विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण बढाएको छ । अस्ट्रेलियाका डेभिड वार्नर र डेभिड मिलर, वेस्ट इन्डिजका आन्द्रे रसेल, बंगलादेशका शाकिब अल हसन, इंग्ल्यान्डका मोइन अली तथा न्युजिल्यान्डका जिमी निसमजस्ता चर्चित खेलाडीको उपस्थितिले एनपीएललाई थप अन्तर्राष्ट्रिय चर्चा दिलाएको छ ।

विश्वस्तरीय खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई उच्चस्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गरेको छ । साथै विश्व क्रिकेटमा परिचित खेलाडीले नेपाली क्रिकेट र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन सहयोग गरेको छ ।

विदेशी खेलाडीको सहभागिताले प्रायोजक, प्रसारणकर्ता र दर्शकको चासो बढाउन पनि सहयोग पुर्‍याएको छ ।

तर, विदेशी खेलाडी ल्याउनु मात्र एनपीएलको सफलता होइन । उनीहरूको अनुभव नेपाली खेलाडीले कति आत्मसात् गर्न सके, प्रशिक्षण र खेल रणनीतिमा कस्तो प्रभाव प¥यो तथा घरेलु क्रिकेटको स्तरमा कति सुधार आयो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ ।

तेस्रो संस्करणमा सबैभन्दा बढी आलोचना भएको विषय त्रिवि क्रिकेट मैदानको पिच रह्यो । प्रतियोगिताका क्रममा ब्याटरले सहज रूपमा रन बनाउन नसकेको र धेरै खेल कम स्कोरमा सीमित भएको विषयले चर्चा पायो । यसले टी-२० क्रिकेटको स्वाभाविक आक्रामकतालाई केही हदसम्म प्रभावित गरेको देखिन्छ ।

इंग्ल्यान्डका अनुभवी खेलाडी रवि बोपाराले पनि पिचको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपाली क्रिकेटको उत्सव

तेस्रो संस्करणको अर्को उल्लेखनीय पक्ष दर्शकको उत्साह रह्यो । कीर्तिपुरस्थित मैदानमा नेपाली क्रिकेटप्रतिको आकर्षण स्पष्ट देखियो । विशेषगरी सुदूरपश्चिम रोयल्सका समर्थकले प्रतियोगितामा उल्लेखनीय उपस्थिति जनाए ।

फाइनल खेलका दिन मैदानको दर्शक क्षमता करिब १० हजार रहेको आयोजकले बताएका थिए। दर्शकले मैदानलाई झण्डा, बाजागाजा र समर्थकका नाराले उत्सवमय बनाएका थिए ।

तर, दर्शकको अत्यधिक चासो व्यवस्थापन गर्न आयोजक सफल भएनन् । फाइनल खेलका टिकट अनलाइन बिक्री सुरु भएको केही समयमै सकिएको भन्दै समर्थकले प्रश्न उठाए ।

कसले के पाए ?