काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा निस्कँदैछन्। आठ महिनाअघि नेपालको प्रधानमन्त्री बनेका शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिलोपटक द्विपक्षीय भेटवार्ता गर्दैछन्।
सन् २०१४ देखि लगातार भारतीय प्रधानमन्त्रीको नेतृत्वमा रहेका मोदीसँगको यो भेटलाई नेपालको राजनीतिक अस्थिरता र भारतको निरन्तर नेतृत्वबीचको तुलनाका रूपमा समेत हेरिएको छ।
नेपालमा पछिल्लो १२ वर्षमा पटकपटक सरकार परिवर्तन भए पनि भारतमा मोदीले तीन कार्यकालदेखि सरकारको नेतृत्व गरिरहेका छन्। नेपालका विभिन्न प्रधानमन्त्रीसँग काम गरिसकेका मोदी नेपाल–भारत सम्बन्धका जटिलता, सीमा विवाद, सन्धि–सम्झौता, पारवहन, ऊर्जा र अन्य द्विपक्षीय समस्याबारे जानकार छन्। त्यसैले नयाँ प्रधानमन्त्रीका रूपमा मोदीसँग संवाद गर्दा संयमित र तथ्यपरक भएर प्रस्तुत हुनुपर्ने सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेनलाई दिएका छन्।
शुक्रबार रवि र बालेनबीच भएको करिब तीन घण्टाको भेटवार्तामा भारत भ्रमणका एजेन्डा र प्रधानमन्त्रीको प्रस्तुतिबारे छलफल भएको थियो। मोदी राजनीतिमा अनुभवी र चतुर खेलाडी भएकाले उनीसँगको वार्तामा पर्याप्त तयारी गरेर जानुपर्ने रविको सुझाव थियो।
मोदी नेपाल–भारत सम्बन्धका साना–साना विषयमा समेत जानकार रहेकाले कुनै पनि मुद्दालाई हल्का रूपमा लिन नहुने र संयमित भएर आफ्ना कुरा राख्नुपर्ने उनले बालेनलाई बताएका थिए।
जवाफमा प्रधानमन्त्री बालेनले आफू नेपाल–भारत सम्बन्धका विषयमा जानकार रहेको बताउँदै भ्रमणका लागि आवश्यक तयारी गरिरहेको उल्लेख गरेका थिए। दुई नेताबीच भ्रमणका एजेन्डा, नेपालले उठाउनुपर्ने विषय र वार्तामा प्रस्तुत हुने शैलीबारे पनि छलफल भएको थियो।
एजेन्डा प्रस्तुत गर्दा हिचकिचाउन नहुने र नेपालको हितसँग जोडिएका विषयमा दृढतापूर्वक कुरा राख्नुपर्ने रविको सुझाव थियो। प्रधानमन्त्री पनि त्यसका लागि तयार रहेको र गम्भीर ढंगले तयारी गरिरहेको रास्वपा सभापतिको सचिवालयले जनाएको छ।
‘नेपाल–भारत सम्बन्धको विषयमा हामी तथ्यपरक रूपमा प्रस्तुत हुनुपर्छ। कुनै पनि विषयमा सामान्य तयारीले हुँदैन। त्यहीअनुसार तयारी गर्न सभापतिज्यूले पनि प्रधानमन्त्रीलाई भन्नुभएको छ। प्रधानमन्त्री पनि गम्भीर ढंगले तयारीमा रहेको बुझेका छौँ’, रविको सचिवालयले भन्यो।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सभापति लामिछाने पनि विमानस्थलमा बिदाइका लागि पुग्न सक्ने सचिवालयले जनाएको छ। त्यो सम्भव नभए टेलिफोनमार्फत शुभकामना दिने उनको तयारी छ।
मोदीसँगको संवादमा संयमित हुन सुझाव
नेपालका लागि भारतका पूर्वराजदूतहरू निलाम्बर आचार्य र शंकर शर्माले पनि प्रधानमन्त्री बालेनलाई भारत भ्रमणमा पर्याप्त तयारी र संयमित प्रस्तुतिको आवश्यकता औँल्याएका छन्।
भारतका प्रधानमन्त्री मोदी नेपालसँगका द्विपक्षीय सम्बन्धका साना–ठूला विषयमा जानकार रहेकाले नेपालले पनि आफ्ना एजेन्डा र समस्याबारे गहिरो तयारी गरेर जानुपर्ने उनीहरूको सुझाव छ।
भारतका लागि नेपाली निवर्तमान राजदूत शंकर शर्माका अनुसार अहिलेसम्मको तयारी सकारात्मक देखिए पनि प्रधानमन्त्रीले वार्तामा कस्तो प्रस्तुति दिन्छन् भन्ने विषय उत्तिकै महत्त्वपूर्ण हुनेछ।
‘नेपाल–भारत सम्बन्धका झिना मसिना कुरामा पनि त्यहाँका प्रधानमन्त्री अभ्यस्त हुनुहुन्छ। त्यसकारण हामीले फितलो तयारी गरेर जानुको औचित्य छैन। अहिलेसम्मको तयारी हेर्दा सरकारले गम्भीर ढंगले काम गरिरहेको देखिन्छ। आज उहाँ जाँदै हुनुहुन्छ। उहाँको प्रस्तुति पनि त्यहीअनुसार होस् र दुई देशबीचको कूटनीतिक सम्बन्ध पनि त्यहीअनुसार अगाडि बढोस् भन्ने शुभकामना दिन्छु’, शर्माले भने।
प्रधानमन्त्रीले भ्रमणमा उठाउने मुद्दा र त्यसलाई प्रस्तुत गर्ने शैलीले पनि भ्रमणको उपलब्धि निर्धारण गर्ने उनले बताएका छन्।
‘हामी कूटनीतिक विषयमा कम अभ्यास र नयाँ अनुभव भएका व्यक्ति हौँ। उहाँ लामो अभ्यास र अनुभव भएको व्यक्ति हुनुहुन्छ। त्यसकारण पनि हामीले कूटनीतिक मामिलामा ज्यादै ख्याल गर्नुपर्ने हुन्छ’, शर्माले भने।
पूर्वराजदूत नीलाम्बर आचार्यले पनि प्रधानमन्त्री बालेनका लागि भारत भ्रमण कूटनीतिक सम्बन्ध सुधार गर्ने र आपसी विश्वासको वातावरण बनाउने अवसर भएको बताएका छन्।
उनका अनुसार मोदीले नेपालका विभिन्न प्रधानमन्त्रीसँग काम गरिसकेका छन्। त्यसैले अहिलेको नेतृत्वले विगतका समस्या र असमझदारीबारे खुलस्त रूपमा कुरा राख्न सक्नुपर्छ।
‘मोदीजीले नेपालका पाँचजना प्रधानमन्त्रीको भ्रमण हेरिसक्नुभएको छ। हाम्रा प्रधानमन्त्रीलाई कूटनीतिक सम्बन्ध सुधार गर्न र आपसी विश्वासको वातावरण बनाउनुपर्ने चुनौती पनि छ। सबै कुरा समस्या भएर मात्र जाँदैनन्, सम्बन्ध राम्रो भयो भने काम हुन्छ’, आचार्यले काठमाण्डुपाटीसँग भने।
उनले नेपालका समस्या भारतीय नेतृत्वसमक्ष स्पष्ट रूपमा राख्न पनि सुझाव दिए। ‘उहाँले नहिचकिचाई हाम्रा समस्या खुलस्त राख्नुपर्छ। भारतीय प्रधानमन्त्री मोदी हाम्रा समस्याका विषयमा एकएक जानकार हुनुहुन्छ। त्यसकारण समस्या समाधान गर्न के गर्ने भन्ने विषयमा हामीले नलजाइकन प्रस्तुत हुनुपर्छ’, आचार्यले भने।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नेपाल-भारतबीच विश्वासको वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। दुई देशबीच देखिएका समस्या विभिन्न तहका वार्ता र छलफलमार्फत समाधान गर्दै जानुपर्ने सुझाव उनले दिएका छन्।
मोदीले भेटेका नेपाली प्रधानमन्त्री
सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक भारतको प्रधानमन्त्री बनेपछि नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग उनको भेट भएको थियो। कोइरालाको कार्यकालमा नेपाल–भारत सम्बन्ध तुलनात्मक रूपमा सौहार्दपूर्ण देखिएको थियो। मोदीले पनि सन् २०१४ मै दुईपटक नेपालको भ्रमण गरेका थिए। त्यतिबेला उनले नेपालसँगको सम्बन्धलाई ‘रोटीबेटीको सम्बन्ध’ भन्दै धार्मिक तथा सांस्कृतिक निकटताको चर्चा गरेका थिए।
तर, २०७२ मा नेपालको संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा तनाव देखियो। संविधानप्रति भारतको असन्तुष्टि र त्यसपछि भएको नाकाबन्दीले नेपाल–भारत सम्बन्धमा गम्भीर दरार पैदा गर्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीचको सम्बन्ध पनि त्यसपछि सहज रहन सकेन।
नाकाबन्दीका बेला भारतको भूमिकालाई लिएर नेपालमा व्यापक असन्तुष्टि देखिएको थियो। भूकम्पबाट थलिएको नेपालमाथि नाकाबन्दी लगाएको भन्दै भारतको अन्तर्राष्ट्रिय स्तरमा समेत आलोचना भएको थियो।
त्यसपछि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गरे। मोदीसँग दाहालको सम्बन्ध तुलनात्मक रूपमा सहज रह्यो। ओलीसँग भने सम्बन्धमा उतारचढाव जारी रह्यो।
२०७४ मा दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओली भारत भ्रमणमा गएका थिए। त्यसपछि मोदीले पनि नेपालको भ्रमण गरे। जनकपुरमा नागरिक अभिनन्दन, मुक्तिनाथ दर्शन र पशुपतिनाथ मन्दिरको भ्रमण गर्दै मोदी नेपाल आएका थिए। त्यसबेला दुई नेताबीचको सम्बन्ध सुधारिएको देखिएको थियो।
तर, २०७९ को निर्वाचनपछि ओली पुनः प्रधानमन्त्री बने पनि भारत भ्रमणमा गएनन्। भारतले उनलाई निमन्त्रणा नदिएको चर्चा भए पनि ओलीनिकट नेताहरूले निमन्त्रणा आए पनि आफूहरू भ्रमणमा नगएको दाबी गर्दै आएका छन्।
त्यसपछि भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बनिन्। कार्की प्रधानमन्त्री बनेपछि मोदीले शुभकामना दिँदै भारत भ्रमणको निम्तो दिएका थिए। तर, उनको प्राथमिकता निर्वाचन गराउनु भएकाले भारत भ्रमण हुन सकेन। उनले २१ फागुनमा निर्वाचन सम्पन्न गराएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बन्यो र बालेन्द्र शाह प्रधानमन्त्री बने।
नेपालमा सरकार परिवर्तन भइरहने अवस्थाले दुई देशबीचका दीर्घकालीन मुद्दा समाधानमा समेत असर परेको भारतीय पक्षको बुझाइ रहँदै आएको छ। राजनीतिक नेतृत्व र सरकारको निरन्तरतामा देखिएको भिन्नताले नेपाल–भारत सम्बन्धलाई अपेक्षित उचाइमा पुर्याउन नसकेको विश्लेषण पनि हुने गरेको छ।
मोदीले सुशीला कार्कीबाहेक नेपालका यसअघिका प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटवार्ता गरिसकेका छन्। नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीका रूपमा बालेनसँगको उनको भेटलाई त्यसैले पनि महत्त्वपूर्ण मानिएको छ।
पूर्वराजदूत आचार्यका अनुसार मोदी प्रधानमन्त्री बनेपछि नेपाल–भारत सम्बन्धमा राजनीतिक विश्वासको संकट देखिँदै आएको छ। बालेन र रास्वपाका लागि त्यसलाई तोड्ने अवसर अहिले रहेको उनको भनाइ छ।
रास्वपा सभापति रवि लामिछाने केही महिनाअघि भारत भ्रमणमा जाँदा भारतीय जनता पार्टीले स्वागत गरेको थियो। त्यसबेला उनले भारतीय प्रधानमन्त्री मोदीसँग समेत भेटवार्ता गरेका थिए।
मोदीलाई निम्तो
प्रधानमन्त्री वालेन्द्र शाहले यसपटकको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले त्यसका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।
प्रधानमन्त्री बनेलगत्तै भारतबाट भ्रमणको निम्ता आए पनि तत्काल भ्रमणमा नजाने निर्णय गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ। सुरुमा देशभित्रै काममा केन्द्रित हुने र त्यसपछि मात्र विदेश भ्रमण गर्ने नीति लिइएको थियो।
‘निम्ता त हामीलाई प्रधानमन्त्री भएलगत्तै आएको हो। तर, राष्ट्रका लागि केही काम नगरी बाहिर नजाने भन्ने हिसाबले प्रधानमन्त्रीले अडान लिनुभएको थियो। अब विदेशी सम्बन्ध सुधारका लागि पनि जानुपर्ने अवस्था आयो’, प्रधानमन्त्रीकी प्रेस संयोजक दीपा दाहालले भनिन्।
उनका अनुसार नेपाल–भारत सम्बन्धमा देखिएका साना–ठूला समस्या सम्बोधन गर्न प्रधानमन्त्रीको यो भ्रमण महत्त्वपूर्ण र फलदायी हुनेछ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली जाँदैछन्। सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग उनको द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि विभिन्न परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
करिब २५ घण्टाको दिल्ली बसाइपछि प्रधानमन्त्री शाह सोमबार साँझ काठमाडौं फर्कनेछन्। छोटो भ्रमणमा दुई देशबीचका पुराना समस्या, नयाँ सहकार्य र राजनीतिक विश्वासको वातावरण निर्माणबारे कस्तो उपलब्धि हासिल हुन्छ भन्ने विषयमा चासो बढेको छ।

राष्ट्रपति र प्रतिपक्षसँग छलफल नगरेकोमा प्रश्न
भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपति र प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने अभ्यास पनि रहँदै आएको छ। तर, प्रधानमन्त्री शाहले यसपटक राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिपक्षी दलका नेताहरूसँग भ्रमणका विषयमा छलफल नगरेको भन्दै प्रश्न उठेको छ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री आफ्नै शैलीमा अघि बढ्न खोज्नुले राजनीतिक परिपक्वतामाथि प्रश्न उठ्ने बताएका छन्। उनले आफ्नो कार्यशैली सुधार्दै अन्य राजनीतिक शक्तिलाई पनि अपनत्व दिएर सल्लाह र सुझाव लिनुपर्ने धारणा राखेका छन्।
पूर्वराजदूत आचार्यले पनि विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने अभ्यासलाई महत्त्वपूर्ण मानेका छन्। उनका अनुसार प्रधानमन्त्रीले राष्ट्रप्रमुखसँग समन्वय गरेर अघि बढ्दा संस्थागत सम्बन्ध र कूटनीतिक अभ्यास बलियो हुन्छ।
यसअघि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाँदासमेत प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिएनन्। यसपटक पनि त्यही अभ्यास दोहोरिएको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ।
रोचक पक्ष के छ भने नेपालका राष्ट्रपति पौडेललाई आफ्नो भ्रमणबारे जानकारी नगराएका प्रधानमन्त्री शाहले भारत भ्रमणको अन्तिम दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भने शिष्टाचार भेट गर्नेछन्। सोमबार दिउँसो मुर्मूसँग भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ।
नेपालमा सरकार र नेतृत्व परिवर्तन भइरहने अवस्थाबीच भारतमा १२ वर्षदेखि एउटै नेताले सरकारको नेतृत्व गरिरहेका छन्। यही भिन्न राजनीतिक परिवेशमा हुन लागेको बालेन–मोदी भेटले दुई देशबीचको सम्बन्धलाई नयाँ दिशा दिन सक्छ वा पुरानै अविश्वास कायम रहन्छ भन्ने प्रश्नको जवाफ भने भ्रमणका उपलब्धिले दिनेछन्।



प्रतिक्रिया