रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित

रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी त्रिभुवन विमानस्थलबाट भारत उडेका हुन् । प्रधानमन्त्रीको भ्रमण तामझाम नगरिकन अनौपचारिकतामा सीमित भएको छ। उनलाई विदाईका लागि उपस्थित हुने सरकारी टोली र व्यक्तिहरूको सङ्ख्या घटाइएको छ।

प्रधानमन्त्रीको विदाइका लागि कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ मात्रै उपस्थित भए । पार्टीको तर्फबाट सभापति रवि लामिछाने पनि उपस्थित भएनन् । उनले प्रवक्ता जगदीश खरेललाई प्रधानमन्त्रीको विदाईका लागि पठाएका छन्।

प्रधानमन्त्रीको विदाइमा सत्तारुढ पार्टीकै सभापति उपस्थित नभएपछि धेरैले यसबारे प्रश्न उठाएका छन् । औपचारिकता भन्दा पर गएर सामान्य ढंगले भ्रमण गरिएकाले पार्टीको तर्फबाट सभापति उपस्थित नभएर प्रवक्ता पठाइएको जानकारी पार्टी स्रोतले दिएको छ ।

पार्टी प्रवक्ता जगदीश खरेललाई यसबारे प्रश्न गर्दा उनले काठमाण्डुपाटीलाई भने, ‘सामान्य हिसाबले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भएको कारण सभापतिज्यू उपस्थित हुनुभएन । उहाँले टेलिफोन मार्फतै शुभकामना दिनुभएको छ।’

‘प्रधानमन्त्री पनि आफ्नो भ्रमण सामान्य हिसाबको होस् भन्नुहुन्छ । सभापतिज्यूले पनि त्यसमा साथ दिनुभएको हो। विदाईका लागि नगएको अरु कारण छैनन्’, प्रवक्ता खरेलले भने ।

विदाईका लागि को गएन को गयो भन्ने कुराले भन्दा पनि त्यहाँ उठाउने एजेन्डा र भएका सहमतिहरुले भ्रमणको फल निर्धारण गर्ने खरेलले बताए ।