जयशंकरसँगको भेटपछि नेपाल-भारत व्यापारिक गोलमेच, बालेनको सट्टा मन्त्रीहरूले सम्बोधन गर्ने

जयशंकरसँगको भेटपछि नेपाल-भारत व्यापारिक गोलमेच, बालेनको सट्टा मन्त्रीहरूले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँदिल्लीमा नेपाल–भारत व्यापारिक गोलमेच बैठक हुँदैछ।

भारतीय विदेशमन्त्री एस जयशंकर र प्रधानमन्त्री शाहबीच ताज प्यालेस होटलमा भेटवार्ता भइरहेका बेला त्यसलगत्तै नेपाल–भारत व्यापारिक बैठक सुरु हुन लागेको हो।

भारतीय उद्योग परिसंघ (सीआईआई) ले दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजना गर्ने बैठकमा नेपाल र भारतका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहनेछ।

बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह भने व्यवसायीहरूसँग हुने विस्तृत अन्तरक्रियामा सहभागी नहुने भएका छन्।

कार्यक्रममा सीआईआईका सहअध्यक्ष विक्रमजित सिंह साहनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुश्री याङ्की उक्याबलगायत सहभागी हुनेछन्।

बैठकमा नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध, लगानी, आर्थिक सहकार्य तथा व्यापार विस्तारका सम्भावनाबारे छलफल हुनेछ।

यसअघि भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीले भारतीय उद्योगी तथा व्यवसायीसँग छुट्टै भेटघाट र अन्तरक्रिया गर्ने गरेका थिए। तर यसपटक प्रधानमन्त्री शाहको सट्टा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले आर्थिक कूटनीति र व्यापारिक सहकार्यका विषयमा व्यवसायीसँग छलफल गर्ने तालिका छ।

प्रधानमन्त्री शाहले भने भारत भ्रमणको मुख्य राजनीतिक कार्यक्रमका रूपमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच पहिलोपटक भेट हुन लागेको हो।

सोमबार बिहान हैदराबाद हाउसमा हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा, पारवहन तथा विकास सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भेटपछि दुवै प्रधानमन्त्रीले विकास परियोजनाको उद्घाटन गर्ने, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ।