नयाँदिल्ली- भारतीय विदेशमन्त्री डा. एस जयशंकर र नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा भेटवार्ता भइरहेको छ।
दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर होटल पुगेका हुन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण हो।
वालेन्द्रको दुई दिने भ्रमणका क्रममा यो पहिलो उच्चस्तरीय भेटवार्ता हो । यही भेटवार्ताका आधारमा सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता कति फलदायी हुने भन्ने पनि तय हुनेछ।
प्रधानमन्त्री शाह र जयशंकरबीचको भेटवार्तापछि सोही होटलमा नेपाल–भारत व्यापारिक गोलमेच बैठक आयोजना हुँदैछ।
भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने उक्त बैठकमा नेपाल र भारतका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहनेछ।

बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ।
भारतीय उद्योग परिसंघका सहअध्यक्ष विक्रमजित सिंह साहनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुश्री याङ्की उक्याबलगायत कार्यक्रममा सहभागी हुनेछन्।
बैठकमा नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध विस्तार, लगानीका सम्भावना, आर्थिक सहकार्य र व्यापारिक आदानप्रदानका विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा आर्थिक कूटनीतिसँग जोडिएको यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भारतीय तथा नेपाली व्यवसायीसँग हुने विस्तृत अन्तरक्रियामा प्रधानमन्त्री शाह आफैँ सहभागी हुने छैनन्। उनको सट्टा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालले व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम छ।
यसअघि भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीले भारतीय उद्योगी तथा व्यवसायीसँग छुट्टै भेटघाट र अन्तरक्रिया गर्ने गरेका थिए। यसपटक भने आर्थिक सहकार्यका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले छलफल गर्ने तालिका बनाइएको छ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच पहिलोपटक भेट हुन लागेको हो। दुई नेताबीचको भेटलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
सोमबार बिहान नयाँदिल्लीस्थित हैदराबाद हाउसमा हुने भेटवार्तामा दुई देशबीचको समग्र सम्बन्ध, व्यापार, ऊर्जा, पारवहन, कनेक्टिभिटी र विकास सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

वार्तापछि दुवै प्रधानमन्त्रीले विभिन्न विकास परियोजनाको उद्घाटन गर्ने, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडान नम्बर आरए २१७ मार्फत नयाँदिल्ली पुगेका थिए। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जीतिन प्रसादले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाहको स्वागतका लागि भारतका लागि नवनियुक्त नेपाली राजदूत निश्चल पाण्डेसहित नेपाली दूतावासका अधिकारी तथा नेपाल वायुसेवा निगमका कर्मचारी पनि विमानस्थल पुगेका थिए। सांस्कृतिक टोलीले नृत्य प्रस्तुत गरेर उनको स्वागत गरेको थियो भने दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरू पनि स्वागतका लागि विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री शाहसँग ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल र ५१ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा छन्।



प्रतिक्रिया