नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि २४ हजार करोड नेपाली रुपैयाँ (२ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको आर्थिक प्याकेज घोषणा गरेका छन्।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त प्याकेज घोषणा गरेका हुन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा विकासका काममा उक्त रकम खर्च गरिने जनाइएको छ।
नेपालले भारतसँग बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणसहित विभिन्न पूर्वाधार परियोजनाका लागि आर्थिक सहयोग माग्दै आएको थियो। प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नेपालले अनुदान र सहुलियतपूर्ण ऋणसमेत गरी दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको थियो।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय भारत भ्रमणको स्वागत गरे। उनले केही महिनाअघि संयुक्त राष्ट्रसंघमा विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा शाहले सम्बोधन गर्दा उनको दूरदृष्टिको झलक देखिएको बताएका थिए।
यसैबीच, मोदी र शाहले अयोध्या–जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवालाई हरियो झण्डा देखाएर उद्घाटन गरेका छन्। यो रेल सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ।
दुवै प्रधानमन्त्रीले भारत र नेपालबीच सडक, रेल तथा विद्युत्सम्बन्धी विभिन्न परियोजनाको उद्घाटन गर्नुका साथै केही नयाँ परियोजनाको सुरुवातका लागि शिलान्याससमेत गरेका छन्।
मोदीले प्रधानमन्त्री शाहलाई भारतको ‘पीएम गति शक्ति’ योजनाबारे पनि जानकारी गराएका छन्। सन् २०२१ अक्टोबर १३ मा सुरु गरिएको यो योजनाको उद्देश्य पूर्वाधार विकासका परियोजनालाई एकीकृत ढंगले अघि बढाउनु र तिनबीच प्रभावकारी समन्वय कायम गर्नु हो।
नेपालमा पनि एउटा पूर्वाधार परियोजनाको कामले अर्को परियोजनामा असर पार्ने अवस्था रहने गरेको भन्दै यसअघि नेपालले भारतसँग उक्त योजनाबारे जानकारी र अनुभव आदानप्रदान गर्न इच्छा व्यक्त गरेको थियो।
मोदी र शाहबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय द्विपक्षीय वार्ता भएको थियो। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डल सहभागी वार्ता र विभिन्न समझदारी तथा परियोजनाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।




प्रतिक्रिया