भारत र नेपालबीच आठ समझदारीपत्रमा हस्ताक्षर, प्रहरी तालिमदेखि स्वास्थ्य र स्याटेलाइट सञ्चारसम्म सहकार्य

भारत र नेपालबीच आठ समझदारीपत्रमा हस्ताक्षर, प्रहरी तालिमदेखि स्वास्थ्य र स्याटेलाइट सञ्चारसम्म सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको प्रशिक्षण, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।

समझदारीअनुसार भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।

त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिमका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।

नेपाली सरकारी अधिकारीको क्षमता अभिवृद्धि र प्रशिक्षणका लागि भारतको सुशासन केन्द्र तथा नेपालको प्रशासनिक कर्मचारी कलेजबीच पनि समझदारी भएको छ।

त्यसैगरी, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धति, स्वास्थ्य सेवा, दिगो सहरी विकास र पशुपालन तथा मत्स्यपालनको विकासमा दुवै देशले सहकार्य गर्ने भएका छन्।

नेपाललाई इन्धन, मलखाद र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राखेको मोदीको भनाइ, राम–सीताको साझा सभ्यताले दुई देशको सम्बन्ध जोडेको उल्लेख

स्याटेलाइट सञ्चारका क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपालका लागि पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक वस्तुको विश्वसनीय आपूर्तिकर्ता रहँदै आएको बताए।

‘नेबरहुड फर्स्ट’ नीतिको भावनाअनुसार यस वर्ष तेल आपूर्तिसम्बन्धी गम्भीर चुनौतीका बाबजुद नेपालमा इन्धन, मलखाद र अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राखिएको उनको भनाइ थियो।

मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताए।

भगवान् राम र माता सीतालाई दुवै देशको साझा सभ्यता र आस्थाको पहिचानका रूपमा उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।