चितवन – नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रले ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण गरेको छ ।
शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको नि:शुल्क शल्यक्रिया गरिएको छ ।
भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मंसिर १ देखि ५ गतेसम्म जिल्लाका ८ स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा परीक्षण गराएकामध्ये ३०३ जनामा मोतियाबिन्दु देखिएको र उनीहरूको शल्यक्रिया भइरहेको उनले जानकारी दिए । सोमबार साँझसम्म सबैको शल्यक्रिया सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
शिविरबाट १ हजार ६९० जनालाई नि:शुल्क औषधि तथा चस्मा वितरण गरिएको पनि घिमिरेले जानकारी दिए । आइक्याम्पफोर चितवनका संयोजक राजबन्धु गौतमका अनुसार माडीको थारू संग्रहालय, भरतपुरको मेघौलीस्थित क्लिनिक नेपाल, कालिकाको शक्तिखोरस्थित स्वास्थ्य चौकी र सिद्धि स्वास्थ्य चौकी, खैरहनीको कठार स्वास्थ्य चौकी, इच्छाकामनाको स्याङ्दीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, राप्ती नगरपालिकाको थाकलटार माध्यमिक विद्यालय तथा रत्ननगरस्थित सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।
आर्थिक तथा भौगोलिक कारणले आँखा उपचार सेवाबाट वञ्चित नागरिकलाई सहज रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गौतमले बताए ।
आइक्याम्पफोरले विगत ९ वर्षदेखि हरेक वर्ष नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रमा सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्न कठिनाइ भएका नागरिकलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।




प्रतिक्रिया