अस्ट्रेलियन प्राध्यापक वेस्टोबीको अनुभव : विकासको प्राथमिकता दातृ निकायले होइन, समुदायले तय गर्नुपर्छ

अस्ट्रेलियन प्राध्यापक वेस्टोबीको अनुभव : विकासको प्राथमिकता दातृ निकायले होइन, समुदायले तय गर्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अस्ट्रेलियाका प्राध्यापक तथा समुदाय विकासविज्ञ पिटर वेस्टोबीले विकासका योजना र समाधान समुदायमाथि थोपर्ने नभई समुदायका आवश्यकता, अनुभव र ज्ञानबाट निर्माण गर्नुपर्ने बताएका छन्।

उनले समुदायलाई विकासको निष्क्रिय लाभग्राहीका रूपमा नभई योजना निर्माण, निर्णय र परिवर्तनको नेतृत्वकर्ता बनाउनुपर्नेमा जोड दिएका छन्।

काठमाण्डुमा मंगलबार आयोजित ‘लर्निङ फ्रम नेपाल : अ ग्यादरिङ फर पिपुल-लेड डेभलपमेन्ट’ विषयक एकदिने कार्यक्रममा बोल्दै वेस्टोबीले समुदायमा काम गर्ने व्यक्ति, संस्था र विकास साझेदारले समुदायको आवाज सुन्ने र उनीहरूको ज्ञानलाई विश्वास गर्ने संस्कार विकास गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले प्रश्न कसलाई सोधिरहेका छौँ भन्ने कुरा महत्त्वपूर्ण छ। समुदायलाई विश्वास गर्छौँ कि गर्दैनौँ? समुदायले आफ्ना समस्या र वास्तविकता आफैँ बुझेको हुन्छ। त्यसैले विकासको सुरुवात समुदायबाटै हुनुपर्छ।’

सहकर्मी समाजले आयोजना गरेको कार्यक्रममा उनले समुदायमा आधारित विकासको अवधारणा, संवादको महत्त्व, स्थानीय ज्ञान र सहभागितामूलक सिकाइका विषयमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

वेस्टोबीले विकासका नाममा सरकार, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदारले समुदायका लागि आफैँ समाधान तय गर्ने प्रवृत्तिलाई औपनिवेशिक र नवऔपनिवेशिक सोचको निरन्तरताका रूपमा व्याख्या गरे।

विकासका साझेदारसँग आफ्नै दर्शन, अनुसन्धान, अनुभव र सफल अभ्यास हुन सक्ने उनलेे बताएका छन्। तर, ती सबै कुरा कुनै समुदायको वास्तविक आवश्यकता र प्राथमिकतासँग मेल खान्छन् भन्ने नहुने तर्क उनलेे गरेका छन् ।

‘तपाईं आफ्नो समाधान, दर्शन, उत्कृष्ट अभ्यास वा अनुसन्धान लिएर कुनै समुदायमा प्रवेश गर्नुहुन्छ र त्यही नै उनीहरूको आवश्यकता हो भन्ने ठान्नुहुन्छ भने तपाईंले गल्ती गरिरहनुभएको छ। विकासको सुरुवात मानिसहरूबाट हुनुपर्छ,’ उनले भने।

उनले यही सन्दर्भमा ब्राजिलका शिक्षाविद् तथा दार्शनिक पाउलो फ्रेरेसँग सम्बन्धित एउटा प्रसङ्ग सुनाए। ‘एकजना अंग्रेजीभाषी व्यक्ति पोर्चुगिज भाषी फ्रेरेको घरमा पुग्दा उनले अंग्रेजीमा कुराकानी गर्न खोजेका थिए’, उनलेे उक्त प्रसंगबारे भने, ‘तर, फ्रेरेले करिब २० मिनेट पोर्चुगिज भाषामै बोले। त्यसपछि ती व्यक्तिले आफूले अर्को भाषाको सम्मान नगरी अंग्रेजीमा संवाद गर्न खोज्नु नै गल्ती भएको महसुस गरे।’

भाषाको विषय केवल सञ्चारको माध्यमसँग मात्र सम्बन्धित नभएको उनलेे बताएका छन्। यसले समुदायको संस्कृति, पहिचान र आत्मसम्मानलाई पनि प्रतिनिधित्व गर्ने उनको तर्क छ। ‘त्यसैले कुनै समुदायमा काम गर्न जाने विकासकर्मीले त्यहाँको भाषा र संस्कृतिको सम्मान गर्न आवश्यक छ’, उनलेे भने ।

उनले नेपालमा सहकर्मी समाजले स्थानीय समुदायबाटै सामुदायिक सहजकर्ता तथा शिक्षक छनोट गर्ने अभ्यासको प्रशंसा गरे। विशेषगरी स्थानीय थारू समुदायका व्यक्तिलाई उनीहरूको भाषा र संस्कृति बुझ्ने भएकै कारण समुदायमा परिचालन गर्नु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

‘कुनै संस्कृतिको आत्मालाई सम्मान गर्न त्यसको भाषा बुझ्नुपर्छ। स्थानीय भाषा र संस्कृतिप्रति गहिरो सम्मान नभएको विकासकर्मीले आफूलाई थाहा नपाउँदा पनि औपनिवेशिक प्रक्रिया अघि बढाइरहेको हुन सक्छ,’ उनले भने।

फ्रेरेको विचारबाट सिक्नुपर्ने पाठ : संवाद र समुदायबाट सुरुवात

वेस्टोबीले पाउलो फ्रेरेको चर्चित पुस्तक ‘पेडागोजी अफ द अप्रेस्ड’ (उत्पीडितहरूको शिक्षाशास्त्र) ले आफ्नो व्यावसायिक तथा शैक्षिक जीवनमा पारेको प्रभावबारे पनि चर्चा गरे।

सन् १९८८ मा पहिलोपटक काठमाण्डु आउँदा उक्त पुस्तक पढेको स्मरण गर्दै उनले सिकाइको आधार संवाद भएको बुझाइ त्यसयता आफ्नो जीवनको अभिन्न हिस्सा बनेको बताए।

संवाद भनेको एक पक्षले अर्को पक्षलाई आफ्नो विचार सुनाउने प्रक्रिया मात्र नभएको उनको तर्क छ। यसमा अरूको कुरा सुन्ने, आलोचना स्वीकार गर्ने, आफ्नो दृष्टिकोणमाथि पुनर्विचार गर्ने र आवश्यक परे आफ्नो धारणा परिवर्तन गर्ने तत्परता हुनुपर्ने उनलेे बताए ।

उनले अमेरिकी अश्वेत बौद्धिक तथा लेखिका बेल हुक्सले पाउलो फ्रेरेको पुस्तकमा महिलाको दृष्टिकोण पर्याप्त रूपमा समेटिएको छैन भन्दै सार्वजनिक रूपमा प्रश्न उठाएको प्रसङ्ग पनि सुनाए।

फ्रेरेले उनको आलोचना स्वीकार गर्दै पुस्तकमा पुरुषकेन्द्रित भाषा प्रयोग भएको र त्यसमा सुधार आवश्यक रहेको स्वीकार गरेका थिए। वेस्टोबीले उक्त घटनालाई संवादको वास्तविक अभ्यासका रूपमा व्याख्या गरे।

‘तपाईं आफूलाई सत्य थाहा छ भन्ने ठान्नुहुन्छ र आफ्नो दृष्टिकोण परिवर्तन गर्न तयार हुनुहुन्न भने तपाईं वास्तविक संवादमा हुनुहुन्न,’ उनले भने, ‘संवाद भनेको सामूहिक रूपमा सोच्ने प्रक्रिया हो। यसले हामी सबैलाई आफ्नो धारणा परिवर्तन गर्न र स्थापित मान्यतामाथि प्रश्न गर्न तयार बनाउँछ।’

उनले विकासकर्मीहरूले समुदायमा प्रवेश गर्दा आफूलाई सबै कुरा थाहा भएको विज्ञका रूपमा प्रस्तुत गर्न नहुने पनि बताए। ‘मेरो विशेषज्ञता भनेको आफूलाई विशेषज्ञ नठान्न सक्नु हो’ भन्ने फ्रेरेको विचार आफूलाई विशेष अर्थपूर्ण लागेको उनले उल्लेख गरे।

साक्षरता पनि अधिकार प्राप्तिको माध्यम

वेस्टोबीले फ्रेरेको लोकप्रिय शिक्षा (पपुलर एजुकेसन) को अवधारणा प्रस्तुत गर्दै साक्षरतालाई रोजगारी प्राप्त गर्ने माध्यममा मात्र सीमित गर्न नहुने बताए। उनले अमेरिकाको हाइल्यान्डर इन्स्टिच्युट र त्यहाँका सामुदायिक अभियन्ता माइल्स होर्टनको अभ्यासको उदाहरण दिए।

त्यहाँ अफ्रिकी मूलका अमेरिकी नागरिकलाई अंग्रेजी भाषा सिकाउन नागरिकता विद्यालय सञ्चालन गरिएको थियो। तर, ती विद्यालयको उद्देश्य भाषा सिकाउनुमा मात्र सीमित थिएन। अंग्रेजी भाषा नजान्ने मानिसहरू मतदानको अधिकार प्रयोग गर्नबाट समेत वञ्चित हुने अवस्था रहेकाले उनीहरूलाई भाषा, अधिकार र नागरिक सहभागिताबारे शिक्षित बनाउनु त्यसको उद्देश्य थियो।

त्यस्ता विद्यालयमा मानवअधिकारसम्बन्धी कानुनी दस्ताबेजलाई समेत भाषा सिकाउने सामग्रीका रूपमा प्रयोग गरिएको थियो। यसरी साक्षरता र नागरिक अधिकारलाई एकअर्कासँग जोडिएको थियो।

वेस्टोबीले शिक्षा मानिसलाई पुँजीवादी व्यवस्थाभित्र रोजगारी प्राप्त गर्न सक्षम बनाउने माध्यम मात्र नभएको बताए। यसले नागरिकलाई आफ्ना अधिकार बुझ्न, तिनको दाबी गर्न र अधिकारका पक्षमा आवाज उठाउन पनि सक्षम बनाउनुपर्ने उनलेे उल्लेख गरे।

उनले समुदायलाई संगठित गर्ने र समुदायलाई सिकाउने प्रक्रिया एकअर्काका पूरक भएको बताए। समुदायलाई संगठित गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यस प्रक्रियाबाट प्राप्त अनुभवमाथि समीक्षा र छलफल गर्न सके मात्रै वास्तविक सिकाइ सम्भव हुने उनको भनाइ थियो।

‘म मानिससँग कति वर्षको अनुभव छ भन्ने कुरालाई मात्र महत्त्व दिन्नँ। उसले आफ्नो अनुभवबारे कति समीक्षा र चिन्तन गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। हामी अनुभवबाट मात्र होइन, अनुभवको समीक्षा गरेर सिक्छौँ,’ उनले भने।

उनले सहकर्मी समाजले फ्रेरेको सिकाइ र समीक्षा पद्धतिलाई समुदाय परिचालन तथा संगठन निर्माणको अभ्याससँग जोडेको उल्लेख गरे।

समुदाय विकासका तीन अभ्यास

वेस्टोबीले विश्वभर समुदाय विकासमा तीनवटा प्रमुख अभ्यास रहेको उल्लेख गरे।

पहिलो, सामाजिक मार्गदर्शनको अभ्यास हो। यसमा सरकार, गैरसरकारी संस्था तथा विकास साझेदारले समुदायका लागि उपयुक्त समाधान आफूले तय गर्ने र समुदायलाई त्यही दिशामा अघि बढाउने प्रयास गर्छन्। उनले यसलाई औपनिवेशिक तथा नवऔपनिवेशिक सोचसँग जोड्दै अधिकांश अन्तर्राष्ट्रिय दातृ निकायले अझै पनि यही प्रकृतिको विकास अभ्यासमा लगानी गरिरहेको बताए।

दोस्रो, समुदाय संगठन निर्माणको अभ्यास हो। यसले समुदायका मानिसलाई कसरी संगठित गर्ने, सामूहिक शक्ति कसरी निर्माण गर्ने र आफ्ना मुद्दामा सामूहिक रूपमा कसरी अघि बढ्ने भन्ने विषयलाई प्राथमिकता दिन्छ।

तेस्रो, सामाजिक सिकाइको अभ्यास हो। यो पाउलो फ्रेरेको विचारबाट प्रभावित छ। यसमा समुदायले आफ्ना काम, अनुभव र गतिविधिको समीक्षा गर्दै के सिकियो, के परिवर्तन गर्नुपर्छ र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा सामूहिक चिन्तन गर्छ।

वेस्टोबीले यी तीनमध्ये सामाजिक सिकाइको अभ्यासलाई दक्षिण अफ्रिकामा आफूले देखेको अनुभवसँग जोड्दै तीन शब्दमा व्याख्या गरे, ‘लिभिङ, लर्निङ, सर्कल्स’ अर्थात् जीवन, सिकाइ र वृत्त।

विकास मानिसहरूको वास्तविक जीवनसँग जोडिनुपर्ने उनको तर्क छ। उनीहरूले आफ्ना अनुभवबाट निरन्तर सिक्ने अवसर पाउनुपर्छ र त्यसका लागि सामूहिक संवाद गर्ने वातावरण निर्माण हुनुपर्ने उनलेे बताए ।

उनले यही अवधारणाअनुसार कार्यक्रममा सहभागीलाई लहरमा नभई गोलाकार रूपमा बस्ने व्यवस्था गरिएको बताए।

‘फ्रेरेको दर्शनमाथि छलफल गर्ने कार्यक्रममा मानिसलाई लहरमा राखेर कसरी संवाद गर्न सकिन्छ? वृत्तमा बस्दा मानिसहरू एकअर्कासँग संवाद गर्छन् र सामूहिक रूपमा सिक्छन्,’ उनले भने।

उनले समुदाय विकासको उद्देश्य नियमित गतिविधि सञ्चालन गर्नु वा परियोजना सम्पन्न गर्नु मात्र नभई मानिसलाई सोच्न, सिक्न, प्रश्न गर्न र परिवर्तनको प्रक्रियामा सक्रिय सहभागी बनाउनु भएको बताए।