एजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छन् । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको जनविद्रोहपछि सत्ता गुमाएर भारतमा निर्वासनमा रहेकी हसिनाले प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।
मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिना स्वदेश फर्किए पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।
उनीमाथि विद्यार्थी आन्दोलनका क्रममा सयौँ मानिसको मृत्यु भएको घटनामा संलग्न रहेको आरोप लागेको थियो । हसिनाले भने अदालतको फैसला अस्वीकार गर्दै स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताउँदै आएकी छन् ।
बंगलादेश सरकारका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनाको सुपुर्दगीका लागि भारतसँग माग गरिसकिएको र सरकार आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् ।
डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि बंगलादेश स्वतन्त्र भएको सम्झनामा यो दिवस मनाइन्छ । हसिनाले आफ्ना पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कन चाहेको उनका सहयोगीले बताएका छन् ।
यसअघि एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई रोक्न नसक्ने बताएकी थिइन् ।
उनको सत्ता पतनपछि बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि भएको निर्वाचनबाट तारिक रहमान नेतृत्वको सरकार गठन भएको हो ।




प्रतिक्रिया