हेटौँडा – चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद २ लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेको हो ।
आईतबार हेटौँडा आएदेखि मंगलबारसम्म ढकाललाई विभिन्न संघसंस्थाले सम्मान गर्दैआएका छन् । देव्रे हाते तीव्र गतिका बलर ढकाललाई हेटौँडा उपमहानगरपालिकाले १ लाखसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उनी हेटौँडा उपमहानगरपालिका–२ का बासिन्दा हुन् ।
यस्तै ढकाललाई हेटौँडा स्कूल अफ म्यानेजमेन्ट क्याम्पसले पनि १ लाखसहित सम्मान गरेको छ । उनलाई बालजागृति इङ्लिस स्कूलले २५ हजारसहित सम्मान गरेको छ । हेटौँडा–४ हुप्रचौरमा रहेको डीडीसी आउटलेटले पनि सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालय, हेटौँडा २ पुरानो मकवानपुर रोडमा रहेको निको अस्पताल प्रालिले पनि रिजनलाई सम्मान गरेको छ ।
यस्तै २ नम्बर वडा कार्यालले ढकाललाई ३५ हजार र अस्पतालले नगदसहित सम्मानपत्र प्रदान गरेको हो । साथै अस्पतालले उनको परिवारका सदस्यको १ वर्षसम्म नि:शुल्क उपचार गर्ने घोषणा समेत गरेको छ । गृह जिल्लाका विभिन्न संघसंस्थाले सम्मान गर्दा आफूलाई थप हौसला मिलेको ढकालले बताए ।
‘गृहजिल्लामा यतिधेरै माया पाउँदा निकै खुसी छु । आगामी दिनमा निरन्तर क्रिकेट खेलमै लाग्न हौसला मिलेको छ,’ उनले भने । ढकालले एनपीएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।



प्रतिक्रिया