काठमाण्डु- नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले सरकारी सेवाबाट अवकाश पाउनेबित्तिकै कानुन व्यवसाय (वकालत) गर्न नपाइने व्यवस्था लागू गरेको छ । परिषद्ले न्यायाधीश, निजामती कर्मचारी, सुरक्षाकर्मी तथा स्थायी शिक्षकसहित सरकारी सेवामा कार्यरत व्यक्तिका लागि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ तोकेको हो ।
परिषद्का सचिव श्रीराम खनालद्वारा जारी सूचनाअनुसार गत मंसिर १ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि परिषद्ले ‘आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५’ को नियम १३ समेत संशोधन गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार सरकारी सेवामा रहँदा कानुन व्यवसायीको प्रमाणपत्र लिइसकेका व्यक्तिले अवकाश पाएको दुई वर्ष पूरा भएपछि मात्र प्रमाणपत्र अद्यावधिक गर्न निवेदन दिन पाउनेछन् । यससँगै उनीहरू तत्कालै कानुन व्यवसायमा प्रवेश गर्न पाउने छैनन् ।
यो व्यवस्था नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका स्थायी निजामती कर्मचारी, न्यायाधीश तथा न्याय सम्पादनमा संलग्न व्यक्ति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीमा लागू हुनेछ ।
त्यस्तै, संघ, प्रदेश र स्थानीय तहबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीसमेत यस व्यवस्थाको दायरामा पर्नेछन् ।
सरकारी सेवाबाट निवृत्त हुनेबित्तिकै पूर्वसहकर्मी तथा आफूले काम गरेको निकायसँग सम्बन्धित मुद्दामा बहस पैरवी गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुन सक्ने र न्यायिक निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै लामो समयदेखि कुलिङ अफ पिरियड लागू गर्न माग हुँदै आएको थियो ।
परिषद्ले यही सम्भावित स्वार्थको द्वन्द्व न्यूनीकरण गर्दै कानुन व्यवसायको निष्पक्षता र विश्वसनीयता कायम राख्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ ।




प्रतिक्रिया