चितवनमा चीनको सहयोगमा गरिएको हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

चितवनमा चीनको सहयोगमा गरिएको हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चीनको छङछिङ र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) बीचको सहकार्यमा चितवनमा गरिएको हाइब्रिड धान खेती सफल भएको छ।

बुधबार चितवनस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा आयोजित धान काट्ने कार्यक्रममा उक्त उत्पादन सार्वजनिक गरिएको हो।

परीक्षणका रूपमा गरिएको धान खेतीमा प्रतिहेक्टर ६.८६० मेट्रिक टन उत्पादन भएको छ।

कार्यक्रममा चीनको छङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका उपाध्यक्ष तान पिङ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेललगायत चिनियाँ तथा नेपाली कृषि विज्ञ र स्थानीय किसानको सहभागिता थियो।

चिनियाँ कृषि विज्ञ वाङ छियानले चिनियाँ र नेपाली विज्ञहरूको संयुक्त प्रयास तथा प्राविधिक सहयोगमा हाइब्रिड धान खेती सफल भएको जानकारी दिए। ८०० दिनभन्दा बढी समयको अनुसन्धान, पटक–पटकको परीक्षण र निरन्तर व्यवस्थापनपछि अपेक्षित उपलब्धि हासिल भएको उनले बताए।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक कट्टेलले चिनियाँ विज्ञहरूले नेपालमै आएर नेपाली कृषि विज्ञसँग संयुक्त अनुसन्धान र प्रविधि आदानप्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। उनले प्रतिहेक्टर ६ हजार किलोग्रामभन्दा बढी धान उत्पादन हुनु नेपालमा कृषि प्रविधि विकास र दुई देशबीचको सहकार्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

छङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका उपाध्यक्ष तान पिङले यस उपलब्धिले नेपाल–चीन कृषि विज्ञान तथा प्रविधि सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनले आगामी दिनमा पनि संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई निरन्तरता दिने उल्लेख गरे।

सन् २०२३ जुलाईमा चीनको छङछिङको सहयोगमा चितवनमा दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना सुरु गरिएको थियो। परियोजनाअन्तर्गत नेपालमा धान खेती, भैँसीपालन र तरकारी उत्पादनसम्बन्धी तीनवटा कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएका छन्।

परियोजनाअन्तर्गत सञ्चालित तरकारी खेती कार्यक्रमले लगातार दुई वर्ष सफल उत्पादन गरेको छ भने सहभागी किसानले कतारलगायत मध्यपूर्वी देशमा तरकारी निर्यात गर्नसमेत सहयोग पाएका छन्।

कार्यक्रमपछि चिनियाँ तथा नेपाली कृषि विज्ञहरूले धान खेतको अवलोकन गरी स्थानीय हावापानीमा हाइब्रिड धानका जातको अनुकूलता, वृद्धि र उत्पादन क्षमताबारे अध्ययन गरेका थिए। साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रयोगशाला, अनुसन्धान क्षेत्र तथा प्रविधि प्रदर्शन केन्द्रको समेत अवलोकन गरिएको थियो।

नेपाल र चीनबीचको कृषि सहकार्यलाई थप विस्तार गर्दै हाइब्रिड धान अनुसन्धान, तोरी खेती, कृषि प्रविधि हस्तान्तरण तथा संस्थागत सहकार्यलाई अघि बढाउने दुवै पक्षले प्रतिबद्धता जनाएका छन्। यस सहकार्यले नेपालको कृषि उत्पादकत्व वृद्धि र खाद्य सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।