काठमाण्डु – लागूऔषध (खैरो हेरोइन) मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी असाव मियाँ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई घटनाको करिब १५ वर्षपछि काठमाण्डुको डल्लुबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार मिति २०६९ वैशाख ५ गते पर्साको वीरगञ्ज उपमहानगरपालिकाबाट लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका मियाँविरुद्ध नेपाल सरकार वादी रहेको लागूऔषध मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते फैसला गरेको थियो ।
सर्वोच्च अदालतको फैसलाले पर्सा जिल्लाको साविक वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थायी ठेगाना भई हाल काठमाण्डु महानगरपालिका–१५ मा बस्दै आएका ३९ वर्षीय मियाँलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
फैसला अनुसारको सजाय भुक्तान नगरी फरार रहेका मियाँलाई विशेष सूचनाका आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाण्डु महानगरपालिका–१५ डल्लुबाट पक्राउ गरेको छ ।
पक्राउ परेका मियाँलाई फैसला कार्यान्वयनका लागि काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।



प्रतिक्रिया