काठमाण्डु –इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल नेपालले साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३-८४ को साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न समयमा गरेको कारबाहीमा १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको हो।
गुल्मका अनुसार इलामको सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा ठूलो परिमाणमा स्याउ, मदिराजन्य पदार्थ, जुत्ता–चप्पल, फर्सीका बियाँलगायतका सामान नियन्त्रणमा लिइएको छ।
बरामद सामानमध्ये १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ र ५७० किलो फर्सीका बियाँ छन्। यसबाहेक जुत्ता–चप्पल तथा चौपाया पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसेसहितको संयुक्त टोलीले ती सामान बरामद गरेको हो।
सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ९डीएसपी० शैलेन्द्र थापाले आफ्नो नेतृत्वमा सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि सक्रियता बढाएका छन्।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी निकासी तथा पैठारी र भन्सार छली नियन्त्रण गर्न थापाको नेतृत्वमा सशस्त्र प्रहरीले नियमित गस्ती, पेट्रोलिङ तथा निगरानीलाई तीव्रता दिँदै आएको छ।



प्रतिक्रिया