काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरू भएपछि उत्तरी छिमेकी चीनबाट पनि चासो प्रकट भएको छ ।
प्रधानमन्त्री शाहको दक्षिणी छिमेक भ्रमणलाई चीनले केवल नेपाल–भारत सम्बन्धको सुधारका रूपमा मात्र हेरेको छैन ।
बेइजिङको चासो नेपालको बदलिँदो विदेश नीति, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को भविष्य र दक्षिण एसियामा भारतसँग नेपालको बढ्दो सहकार्यमा पनि केन्द्रित देखिन्छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको सन्दर्भमा चिनियाँ अधिकारी, विश्लेषक तथा सञ्चारमाध्यममा आएका टिप्पणीले नेपालले भारत र चीन दुवैसँग सम्बन्ध कायम राख्दै आफ्नो रणनीतिक स्वायत्तता जोगाउन खोजेको संकेत गरेका छन् ।
प्रधानमन्त्री शाहले यही हप्ताको सुरूमा आइतबार र सोमबार दुई दिने भारतको राजकीय भ्रमण गरेका थिए । जसलाई चीनले नजिकबाट नियालिरहेको छ ।
नेपालका प्रधानमन्त्रीले पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि भारत रोज्नु, भारतसँग आर्थिक पुनर्निर्माण, ऊर्जा, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका विषयमा सहमति गर्नु तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत राजनीतिक सम्बन्ध विकास गर्नु बेइजिङका लागि चासोका विषय बनेका छन् ।
यद्यपि, चीनले यस भ्रमणलाई नेपाल भारततर्फ पूर्ण रूपमा ढल्किएको घटनाका रूपमा व्याख्या गरेको देखिँदैन । चिनियाँ सञ्चारमाध्यम र विश्लेषणमा नेपालको भूराजनीतिक अवस्थिति, दुई छिमेकीसँगको आर्थिक निर्भरता र आफ्नो राष्ट्रिय हितअनुसार निर्णय गर्ने क्षमतामाथि बढी ध्यान दिइएको छ ।

चीनको नजरमा कूटनीतिक सन्तुलनको परीक्षण
नेपाली प्रधानमन्त्रीको भारत भ्रमणबारे चिनियाँ सञ्चारमाध्यम र विश्लेषकहरूको दृष्टिकोणलाई समेटेर ड्रागन मिडियामा प्रकाशित पासाङ ल्हामुको विश्लेषणले यसलाई नेपालको ’कूटनीतिक सन्तुलन’ कायम गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।
उक्त विश्लेषणअनुसार प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा रहेका बेला उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद चीन भ्रमणमा गएका थिए । उनीहरूको भ्रमणमा राजनीतिक तथा आर्थिक सहकार्य, बीआरआईअन्तर्गतका परियोजना र चीनको लगानीमा सञ्चालित आयोजनाको अवस्थाबारे छलफल गर्ने विषय समेटिएको थियो ।
यसलाई चिनियाँ पर्यवेक्षकहरूले नेपालले भारतसँग सम्बन्ध सुधार गर्दा चीनसँगको सम्बन्धलाई पनि समानान्तर रूपमा अघि बढाउन खोजेको संकेतका रूपमा बुझेको विश्लेषणमा उल्लेख छ।
भारत भ्रमणअघि प्रधानमन्त्री शाहले चीन जाने सांसदहरूलाई नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न निर्देशन दिएको र चीनसँग हीनताबोध नराखी नेपालको हितमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)बाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन भनेको पनि उक्त विश्लेषणमा उल्लेख गरिएको छ ।
यसको अर्थ काठमाण्डुले भारतसँग निकटता बढाउँदा बेइजिङसँगको सम्बन्ध कमजोर नहोस् भन्ने सन्देश दिन खोजेको चिनियाँ विश्लेषकहरूको बुझाइ रहेको देखिन्छ ।
ड्रागन मिडियाको विश्लेषणमा चीनले नेपालको भारतसँगको निकटतालाई तत्काल आफ्नो प्रभाव घटेको निष्कर्षका रूपमा भन्दा पनि नेपालले आफ्नो रणनीतिक स्वायत्तता कायम राख्न गरेको प्रयासका रूपमा हेरेको उल्लेख छ ।

बीआरआईप्रति बालेन सरकारको चासो
प्रधानमन्त्री शाहको भारत भ्रमणभन्दा पनि चीनका लागि उनको सरकारको बीआरआईप्रतिको दृष्टिकोण महत्त्वपूर्ण देखिएको छ । चिनियाँ उच्च अधिकारीहरूले बालेन सरकारको आठ महिनाको कार्यकालको प्रारम्भिक मूल्यांकन गर्दै सरकार बीआरआईको विषयमा अनिच्छुक रहेको विश्लेषण गरेका छन् ।
ती अधिकारीहरूका अनुसार अघिल्ला नेपाली सरकारले बीआरआईअन्तर्गत अघि बढाएका सहमति र परियोजनालाई निरन्तरता दिने विषयमा वर्तमान सरकारबाट अपेक्षित गति देखिएको छैन ।
त्यस्तै, टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन लगभग पूरा भए पनि प्रशासनिक प्रक्रियाका कारण काम अघि बढ्न नसकेको चिनियाँ पक्षको भनाइ छ । यसमा राजनीतिक कारण पनि हुन सक्ने आशंका ती अधिकारीले व्यक्त गरेका छन् ।
चिनियाँ अधिकारीको यस्तो विश्लेषणले चीनको मुख्य चासो केवल प्रधानमन्त्रीको भारत भ्रमणमा सीमित नभई नेपालमा आफ्नो लगानी र पूर्ववर्ती सरकारले गरेका सम्झौताको भविष्यसँग पनि जोडिएको देखाउँछ ।
चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको र बालेन सरकारबाट पनि त्यसको अपेक्षा गरेको चिनियाँ चाहना छ । तर अब स्थिरता मात्रै पर्याप्त नभएको र त्यसलाई आर्थिक प्रगति तथा सुशासनमा रूपान्तरण गर्नुपर्ने चीनको बुझाइ छ ।
चिनियाँ पक्षले प्रधानमन्त्री शाहको बेइजिङ भ्रमणको अपेक्षा पनि गरेकोट । शाहलाई चीन स्वागत गर्न तयार रहेको संकेत दिइए पनि निकट भविष्यमा उनको भ्रमण हुनेमा अधिकारीहरूले त्यति धेरै आशावादी धारणा व्यक्त गरेका थिएनन् ।

नेपाललाई आफ्नै प्रभावमा राख्ने चिनियाँ रणनीति
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यसअघिका नेपाली प्रधानमन्त्रीको चीन भ्रमणलाई परम्परागत कूटनीतिक अभ्यासभन्दा फरक घटनाका रूपमा व्याख्या गर्दै गरेको छ ।
सामान्यतः नेपाली प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परालाई तोडेर चीन जाने अभ्यासलाई पनि उसले महत्त्व दिएको छ ।
तर प्रधानमन्त्री शाहले पहिलो द्विपक्षीय भ्रमण भारतबाट सुरु गरेपछि नेपालको विदेश नीतिमा नयाँ मोड आएको हो कि भन्ने प्रश्न उठेको छ ।
ड्रागन मिडियामा प्रकाशित विश्लेषणले केही चिनियाँ पर्यवेक्षकले यसलाई नेपालको विदेश नीतिमा सम्भावित परिवर्तनका रूपमा हेरेको उल्लेख गरेको छ । तर उनीहरूले यसलाई चीनबाट टाढिने निर्णायक कदमका रूपमा भने व्याख्या गरेका छैनन् ।
नेपालको भौगोलिक अवस्थिति र आर्थिक यथार्थलाई हेर्दा भारतसँगको सम्बन्धलाई बेवास्ता गर्न सम्भव छैन । नेपालको ठूलो व्यापारिक तथा पारवहन निर्भरता भारतसँग छ । इन्धन आपूर्ति, तेस्रो मुलुकसँगको व्यापार र ऊर्जा बजारमा पनि भारतको भूमिका महत्त्वपूर्ण छ ।
अर्कोतर्फ, चीनसँगको व्यापार, पूर्वाधार, पर्यटन र उत्तरी सीमापार सम्पर्क सञ्जाल विस्तार नेपालको दीर्घकालीन रणनीतिक प्राथमिकतासँग जोडिएको छ ।
त्यसैले नेपालले भारतसँग सम्बन्ध सुधार गर्दा चीनसँगको सहकार्य पनि निरन्तर राख्नुपर्ने अवस्था रहेको चिनियाँ विश्लेषणको निष्कर्ष छ ।
‘लुक नर्थ’ नीति
चिनियाँ भाषाका केही अनलाइन विश्लेषणमा नेपालको ‘लुक नर्थ’ अर्थात् उत्तरतर्फ हेर्ने नीतिलाई पनि चर्चा गरिएको छ । ड्रागन मिडियाको विश्लेषणमा चिनियाँ अनलाइन प्लेटफर्म टाउटियाओमा प्रकाशित एउटा विश्लेषणलाई उद्धृत गर्दै नेपालको उत्तरतर्फको सम्पर्क सञ्जाल विस्तारलाई भारतमाथिको अत्यधिक निर्भरता घटाउने प्रयासका रूपमा व्याख्या गरिएको छ ।
यसमा विशेषगरी प्रस्तावित हिमालयपार रेलमार्गलाई महत्त्वपूर्ण परियोजनाका रूपमा प्रस्तुत गरिएको छ । चीनले नेपालसँग रेलमार्ग, सडक, व्यापारिक नाका र अन्य पूर्वाधार विस्तारमार्फत आफ्नो क्षेत्रीय सम्पर्क सञ्जाल बलियो बनाउन चाहेको छ ।
नेपालका लागि पनि उत्तरी नाका र रेलमार्गको विकासले व्यापार तथा पारवहनका वैकल्पिक सम्भावना खोल्न सक्छ ।
तर चिनियाँ विश्लेषणले नेपालको भौगोलिक र आर्थिक सीमालाई पनि औँल्याएको छ । त्यसैले भारतसँगको निर्भरता घटाउने उद्देश्य राखेर मात्रै उत्तरतर्फका परियोजना अघि बढाउनु व्यावहारिक नहुने चिनियाँ विश्लेषणको आशय छ ।
यसले नेपालले दुई छिमेकीबीच सम्बन्ध सन्तुलित राख्ने प्रयास गर्दा भौगोलिक यथार्थ र आर्थिक क्षमतालाई पनि ध्यान दिनुपर्ने सन्देश दिएको छ ।

शाहको कूटनीतिक शैलीमा चिनियाँ चासो
प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालको कूटनीतिक शैलीमा आएको परिवर्तनलाई पनि चिनियाँ अधिकारीहरूले चासोपूर्वक हेरिरहेका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले यसअघि नेपालको कूटनीतिमा विगतका सरकारको बोझ बोकेर हिँड्नुपर्ने अवस्था नरहेको आशय व्यक्त गरेका थिए । यस अभिव्यक्तिप्रति चिनियाँ अधिकारीहरूले असन्तुष्टि जनाएको छ । चिनियाँ अधिकारीहरूले नेपालले आफ्नै निर्णय गर्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने क्षमता प्रदर्शन गर्नुपर्ने विषयसमेत उठाएका छन् ।
उनीहरूको भनाइमा राम्रो नियत र इच्छाशक्ति मात्रै पर्याप्त हुँदैन । सही योजना बनाउने, निर्णय गर्ने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्षमता पनि आवश्यक हुन्छ ।
यसले चीनले शाह सरकारलाई तत्काल कुनै एउटा छिमेकीको पक्षमा उभिएको वा अर्को छिमेकीबाट टाढिएको सरकारका रूपमा भन्दा पनि आफ्ना निर्णय र कार्यसम्पादनबाट मूल्यांकन गर्न खोजिरहेको संकेत गर्छ ।
त्यस्तै, चीनले नेपालको बाढीपहिरोपछि पुनर्निर्माण, सीमा नाका सञ्चालन र जलवायु न्यायका विषयमा पनि आफ्नो चासो देखाएको छ ।
भारतसँगको सम्बन्ध सुधारलाई चीनले आफ्नो क्षेत्रीय प्रभावसँग जोडेर हेरेको छ प्रधानमन्त्री शाहको भारत भ्रमणलाई चीनले क्षेत्रीय भूराजनीतिक प्रतिस्पर्धाको पृष्ठभूमिमा पनि हेरेको छ ।
रोयटर्सले प्रकाशित गरेको विश्लेषणात्मक समाचारअनुसार भारतले नेपालमा आएको विनाशकारी बाढीपछि तत्काल राहत उपलब्ध गराएर र पुनर्निर्माणका लागि १.६२ अर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेर नेपालसँगको सम्बन्ध सुधार्ने प्रयास गरेको छ ।
रोयटर्सका अनुसार भारतले नेपालमा आफ्नो प्रभाव पुनः बलियो बनाउने र चीनको बढ्दो प्रभावलाई सन्तुलित गर्ने रणनीतिअन्तर्गत पनि आर्थिक सहयोगलाई अघि सारेको छ । सन् २०२४–२५ मा नेपाललाई भारतले उपलब्ध गराएको सहायता चीनको तुलनामा चार गुणाभन्दा बढी रहेको तथ्य पनि रोयटर्सले प्रस्तुत गरेको छ ।
विश्लेषकहरूका अनुसार भारतको तीव्र सहायता र सहुलियतपूर्ण वित्तीय सहयोगले प्रधानमन्त्री शाहलाई घरेलु राजनीतिमा समेत लाभ पुर्याउन सक्छ । यसले काठमाण्डुलाई चीनतर्फ अत्यधिक झुक्नबाट रोक्ने सम्भावना पनि रहन्छ । तर चीनले भने आफ्नो नेपालसँगको सहकार्य कुनै तेस्रो मुलुकविरुद्ध लक्षित नरहेको बताउँदै आएको छ ।
यस सन्दर्भमा शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई मात्रै प्रभावित नगरी भारत र चीन दुवैको नेपालसम्बन्धी रणनीतिक गणनालाई पनि प्रभावित गरेको देखिन्छ ।

नेपाल-चीन सम्बन्ध उस्तै
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भए । डिजिटल पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जा, स्याटेलाइट सञ्चार, सहरी विकास र सीमा सम्पर्क सञ्जाल विस्तारका विषयमा सहकार्य अघि बढाउने सहमति भयो ।
भारतले बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि १.६ अर्ब अमेरिकी डलरको सहयोग प्याकेज घोषणा गर्यो ।
अयोध्या-जनकपुर रेल सेवा, धर्चुला-दार्चुला मोटरेबल पुल र मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण पनि भ्रमणका महत्त्वपूर्ण उपलब्धिका रूपमा रहे ।
तर भ्रमणमा नेपालको चीनसँग सम्बन्धित केही महत्त्वपूर्ण विषय पनि अप्रत्यक्ष रूपमा जोडिएका छन् । विशेषगरी नेपालको उत्तरी सीमामा रहेका व्यापारिक नाकाको सञ्चालन, चीनसँगको पारवहन सम्झौता, हिमालयपार रेलमार्ग र बीआरआई परियोजनाको भविष्य नेपालका लागि महत्त्वपूर्ण छन् ।
भारतीय विश्लेषक स्नेहा एमले विश्लेषणमा बालेनको भारत भ्रमणलाई सम्बन्ध सुधारको नयाँ प्रक्रियाका रूपमा व्याख्या गरेकी छन् ।
उनको विश्लेषणले भ्रमणका क्रममा भएका सहमतिहरू महत्त्वपूर्ण भए पनि सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन, गोर्खा भर्ती र व्यापार घाटाजस्ता विषयमा ठोस प्रगति नभएको औँल्याएको छ ।
यसले भारतसँगको सम्बन्ध सुधार हुँदैमा नेपालको चीनसँग सम्बन्धित रणनीतिक तथा आर्थिक प्राथमिकता समाप्त नहुने देखाउँछ ।



प्रतिक्रिया