म्याद नथपी हिरासतमा राखिएका पूर्वमुख्यसचिव अर्यालको निवासमा सीआईबीको खानतलासी

म्याद नथपी हिरासतमा राखिएका पूर्वमुख्यसचिव अर्यालको निवासमा सीआईबीको खानतलासी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको संगठित ठगी र रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको निवासमा प्रहरीले खानतलासी गरेको छ।

भारतको कोलकाताबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याइएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ।

उनीमाथि अनुसन्धानका लागि अदालतबाट म्याद थपको प्रक्रिया टुंगिन बाँकी रहेकै अवस्थामा प्रहरीले उनको निवासमा खानतलासी अघि बढाएको हो।

प्रहरी टोलीले अर्यालको निवासमा पुगेर आवश्यक कागजात तथा प्रमाणहरू खोजी गरिरहेको छ। खानतलासीका क्रममा के–के सामग्री बरामद भए भन्ने विवरण भने सार्वजनिक भएको छैन।

अर्याललाई बिहीबार बिहान भारतको कोलकाताबाट नेपाल ल्याइएको हो। उनलाई भारतबाट स्थलमार्ग हुँदै काकडभिट्टा प्रवेश गराएर हवाईमार्गबाट काठमाडौं ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै सीआईबीको कार्यालय पुर्‍याइएको थियो।

म्याद थपको प्रक्रिया किन बाँकी ?

अर्याललाई बिहीबार नै अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गर्ने सीआईबीको तयारी थियो। तर पक्राउपछि आवश्यक स्वास्थ्य परीक्षण र कागजात तयार गर्न समय अभाव भएपछि उनलाई बिहीबार अदालतमा उपस्थित गराउन नसकिएको सीआईबीका अधिकारी बताउँछन् ।

सीआईबीले अर्यालसहित यसअघि पक्राउ परेका अन्य १० जनालाई एकैपटक अदालतमा उपस्थित गराउने तयारी गरेको थियो। अर्याललाई उपस्थित गराउन नसकेपछि अन्य अभियुक्तको म्याद थप प्रक्रिया पनि ढिलो भएको छ। यसअघि पक्राउ परेका १० जनाको हकमा अदालतले थप पाँच दिन अनुमति दिएको छ।

१ अर्ब ६९ करोडको कारोबारमा अनुसन्धान

सीआईबीले मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाइएको प्रकरणमा अर्यालको भूमिका अनुसन्धान गरिरहेको छ।

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुल्ने र उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको प्रहरीको आरोप छ।

प्रहरीका अनुसार यस प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर ९२ सेन्ट र ३७ लाख १७ हजार ९८० पाउन्ड ८० पेन्स गरी कुल १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा विदेश पठाइएको छ।

मलेसिया जाने श्रमिकसँग प्रतिव्यक्ति १०० रिंगेटका दरले अतिरिक्त रकम असुलिएको र त्यसको ठूलो हिस्सा मलेसिया पठाइएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताविपरीत रकम संकलन तथा स्थानान्तरण गरिएको आरोप छ।

यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखहरू उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङसहित १० जना पक्राउ परिसकेका छन्।

सीआईबीले यस प्रकरणमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। काठमाडौं जिल्ला अदालतबाट अर्यालविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो।

अनुसन्धानका क्रममा मलेसियामा रकम पठाउने निर्णय प्रक्रियामा संलग्न पदाधिकारीदेखि रकम संकलन तथा व्यवस्थापनमा जोडिएका निजी क्षेत्रका व्यक्तिसम्मको भूमिका खोतल्ने काम भइरहेको छ।