काठमाण्डु- भारतको बिहारमा विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहको प्रसङ्ग अहिले भाइरल भएको छ। बिहेको भव्यता, पाँच लाख बढी निम्तालु, खर्चिलो शैली र रोचक दृश्यका कारण चर्चामा छ ।
विवाहमा झण्डै पाँच लाख पाहुनालाई भोज खुवाउने तयारीसहित भोजस्थलको तयारी गरिएको थियो। ५० लाख गुलाबजामुन, दुलहालाई करिब तीन करोड भारतीय रुपैयाँको ल्याण्ड रोभर डिफेन्डर उपहार र घोडदौड प्रतियोगितामा विजेतालाई महिन्द्रा कार पुरस्कारले यसलाई सामान्य विवाहभन्दा फरक बनाएको छ ।
बिहारको मोकामा क्षेत्रका विधायक अनन्त सिंहकी कान्छी छोरी शिवांगीको विवाह ऋषिकेश कुमारसँग बुधबार बिहारको पटनास्थित नदवाँ गाउँमा भएको हो ।
विवाह समारोह अनन्त सिंहको पैतृक गाउँमा आयोजना गरिएको थियो । विवाहको तयारीका क्रममा गाउँलाई नै उत्सवस्थलका रूपमा सजाइएको थियो ।
पाँच लाख पाहुना र सयौँ भान्से
विवाहको सबैभन्दा चर्चित पक्ष पाहुनाको संख्या र खानपानको व्यवस्था थियो । आयोजकका अनुसार करिब चार लाख मानिसलाई भोजन गराउने लक्ष्य राखिएको थियो । तर भोज खानेको संख्या पाँच लाखभन्दा बढी भएको छ ।
यसका लागि पाँच सयभन्दा बढी हलवाई तथा अन्य कामदार परिचालन गरिएको थियो । तीन सयभन्दा बढी खाना पकाउने स्थान र विशाल पण्डालको व्यवस्था गरिएको थियो ।
भोजमा १५० भन्दा बढी परिकार समावेश गर्ने तयारी गरिएको थियो । पूर्णतः शाकाहारी मेनुमा बिहारी परिकार लिट्टी–चोखादेखि कश्मीरी पुलाउ, पनिर, विभिन्न प्रकारका रोटी, चाट, पानीपुरी र डोसासम्म राखिएका थिए ।
मिठाइमा रसभरी, , गुलाबजामुन, राजभोग, कालाजामुन, मालपुवा, जलेबी, गाजरको हलुवा र मखाना खीरलगायत आठ प्रकारका परिकार समावेश थिए ।
दुलहालाई तीन करोडको डिफेन्डर
विवाहको अर्को आकर्षण दुलहा ऋषिकेश कुमार (अंकित) लाई दिइएको महँगो उपहार हो । अनन्त सिंहले ज्वाइँलाई करिब दुई करोड ५० लाखदेखि तीन करोड भारतीय रुपैयाँ मूल्य पर्ने सेतो ल्याण्ड रोभर डिफेन्डर उपहार दिए ।
त्यसैगरी, आफ्नो कान्छो छोरा अभिनवका लागि करिब एक करोड भारतीय रुपैयाँ मूल्यको बीएमडब्ल्यू कारको व्यवस्था गरिएको थियो । अभिनवको विवाहकै दिन व्रतबन्ध संस्कारसमेत आयोजना गरिएको थियो ।
दुलहालाई १०० ग्रामको सुनको सिक्री र ८० ग्रामको सुनको ब्रेसलेट पनि उपहार दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घोडादौड पनि
विवाहलाई अझ रोचक बनाउन घोडादौड प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई महिन्द्रा थार एसयूभी, दोस्रो हुनेलाई बुलेट मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर दिने घोषणा गरिएको थियो ।
यसका लागि करिब १२ बिघा जमिनमा छुट्टै मैदान तयार गरिएको थियो । प्रतियोगितामा सहभागी हुन बिहार, उत्तर प्रदेश, झारखण्ड, राजस्थानलगायत विभिन्न राज्यबाट घोडा र घोडसवार आएका थिए ।
त्यसका लागि ५० भन्दा बढी घोडा गाउँमा पुगिसकेका थिए । लाल बादशाह, खगडिया एक्सप्रेस, बाबर, रकेट र सिकन्दर नामका घोडाले विशेष चर्चा पाएका थिए ।
जयपुर शैलीको मण्डप र पाँच हेलिप्याड
विवाहस्थललाई आकर्षक बनाउन जयपुरको वास्तुशैलीबाट प्रभावित भव्य मण्डप निर्माण गरिएको थियो । जयमालाका लागि बनाइएको मञ्च करिब १०० फिट चौडा, ३५ फिट लामो र ३० फिट अग्लो थियो ।
विवाहस्थल १० बिघाभन्दा बढी जमिनमा फैलिएको थियो भने घोडादौडका लागि थप करिब १२ बिघा जमिन छुट्याइएको थियो ।
विशिष्ट पाहुनाको आवागमनलाई सहज बनाउन पाँचवटा हेलिप्याड निर्माण गरिएको थियो । सजावटका लागि चीन र भारतको बेङ्गलुरूबाट फूल मगाइएको थियो । तयारीमा चारदेखि पाँच सय कामदार, कलाकार र सजावटमा संलग्न व्यक्ति खटिएका थिए ।
राजनीतिक तथा मनोरञ्जन क्षेत्रका पाहुना
विवाहमा राजनीतिक र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तिहरूलाई निमन्त्रणा गरिएको थियो । पूर्वभाजपा सांसद बृजभूषण शरण सिंह विवाहमा सहभागी हुन पटना पुगेका थिए । उनी हेलिकोप्टरबाट विवाहस्थल पुगेका थिए ।
भोजपुरी कलाकार पवन सिंह, अक्षरा सिंह र अन्य कलाकारलाई पनि निमन्त्रणा गरिएको थियो । यद्यपि, निमन्त्रणा गरिएका सबै कलाकार उपस्थित भने भएनन् ।
राजनीतिक प्रश्न पनि
विवाहको भव्य तयारीसँगै खर्चको स्रोतबारे पनि राजनीतिक बहस भएको छ । राष्ट्रिय जनता दल (आरजेडी) की सांसद मीसा भारतीले यति ठूलो आयोजनाको खर्चको स्रोतबारे प्रश्न उठाएकी थिइन् ।
उनले आफ्नो परिवारमा विवाह हुँदा विभिन्न अनुसन्धान निकायले चासो देखाएको उल्लेख गर्दै अनन्त सिंहको विवाह खर्चबारे पनि प्रवर्तन निर्देशनालय (ईडी) र आयकर विभागले प्रश्न गर्नुपर्ने आशय व्यक्त गरेकी थिइन् ।
तर अनन्त सिंहले विवाहको व्यवस्थापनमा ठूलो रकम खर्च नभएको दाबी गरेका थिए । उनका अनुसार टेन्ट लगाउनेदेखि अन्य व्यवस्थासम्मका खर्च साथीहरूले सहयोगस्वरूप बेहोरेका थिए।




प्रतिक्रिया