गगन थापालाई राजेन्द्र बजगाईंको खुलापत्रः मैले तपाईंको कारण काँग्रेस छाडेको हुँ

गगन थापालाई राजेन्द्र बजगाईंको खुलापत्रः मैले तपाईंको कारण काँग्रेस छाडेको हुँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी सभापति गगन थापालाई खुलापत्र लेख्दै आफूले पार्टी छाड्नुको कारण सार्वजनिक गरेका छन् ।

बजगाईंले सामाजिक सञ्जालमार्फत तीन पुस्तादेखिको कांग्रेससँगको सम्बन्ध सजिलै नत्यागेको उल्लेख गर्दै पद नपाएर नभई पार्टीको राजनीतिक कार्यशैली र संस्कृतिसँग असहमति जनाउँदै पार्टी छाडेको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा २४ भदौ २०८२ मा बानेश्वरमा प्रहरीको गोलीले १९ नवयुवाको मृत्यु भएपछि बजगाईंले त्यस घटनाको निन्दा गर्दै सांसद् पदबाट राजीनामा घोषणा गरेका थिए । उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट निर्वाचित भएका थिए ।

‘मैले कांग्रेस तपाईंको कारणले छाडेको हुँ,’ उनले लेखेका छन्, ‘सिद्धान्तभन्दा गठबन्धन, संस्थाभन्दा गुट र वाचा पूरा गर्नुभन्दा वाचा गर्नु नै ठूलो ठानिने राजनीतिक संस्कृति स्वीकार्न नसकेर छाडेको हुँ ।’

उनले आफू सम्भावित तीनवटा आक्रमणबाट होसियारीपूर्वक बचेको दाबीसमेत गरेका छन् । तर ती आक्रमण कहिले, कहाँ र कसरी भएका थिए भन्ने खुलाएका छैनन् ।

बजगाईंले आफूले मानिसको जीवन बचाउनुलाई महत्त्व दिँदै आएको उल्लेख गर्दै पहाडी क्षेत्रमा उद्धार कार्यमा सहयोग गरेको र सुत्केरी जटिलताका कारण ज्यान जोखिममा परेका महिलाहरूको उद्धारमा सघाएको स्मरण गरेका छन् ।

सन् २०१५ को भूकम्पपछि आफ्नो ट्रेकिङ कम्पनी बन्द गरेर पालसहित कम्पनीका सामग्री विस्थापितको अस्थायी शिविर बनाउन दिएको पनि उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको हत्यापछि संसद्बाट राजीनामाको घोषणा गरेको समेत बजगाईंले गराएका छन् । आफूलाई यिनै निर्णयका आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।


बजगाईंले राजनीतिक परिवर्तनको भाषणले मात्रै देशमा परिवर्तन नआउने विषयमा जानकारी राख्न गगनलाई भनेका छन् ।
‘परिवर्तनको भाषा बोल्नु एउटा कुरा हो । देशलाई चाहिएको त परिवर्तनको प्रमाण हो,’ उनले लेखेका छन् ।


खुलापत्रमा उनले थापाले समूह बनाउने, गठबन्धनको मोलमोलाइ गर्ने र आफूलाई अर्को राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने काम गरिरहे पनि जनताले बाचा र व्यवहारबीचको दूरी मूल्याङ्कन गर्ने उल्लेख गरेका छन् ।


‘तपाईं समूह बनाउन, गठबन्धनको मोलमोलाइ गर्न, घोषणा गर्न र आफूलाई अर्को विकल्पका रूपमा प्रस्तुत गर्न जारी राख्न सक्नुहुन्छ । तर जनताले अन्ततः तपाईंको वाचा र अभ्यासबीचको दूरीको मूल्याङ्कन गर्नेछन्’, उनी लेख्छन्, ‘तपाईंले अरूलाई मनाउन सक्नुहोला । सिङ्गो राजनीतिक समितिलाई नै मनाउन सक्नुहोला । तर उही राजनीतिक बानी कायम राखेर शब्द मात्र बदल्नुभयो भने तपाईंले मलाई मनाउन सक्नुहुने छैन । म अलग भएको छु, र मेरो अन्तरात्मासँग सम्झौता गराउने कुनै राजनीतिक व्यवस्थामा फर्कने मेरो कुनै इरादा छैन ।’


उनले आफू कुनै राजनीतिक सम्झौताका आधारमा पुरानै व्यवस्थामा फर्कने पक्षमा नरहेको पनि स्पष्ट गरेका छन् ।
‘मैले नेपालप्रतिको आस्था गुमाएको छैन । गुमाएको त तपाईंले रोज्नुभएको राजनीतिप्रतिको आस्था हो,’ उनले पत्रमा भनेका छन् ।
पत्रको अन्त्यमा उनले व्यवस्था परिवर्तनको कुरा मात्र गर्नेहरूलाई इतिहासले पुरस्कृत नगर्ने भन्दै परिवर्तनका लागि साहस गर्नेहरूलाई इतिहासले सम्झने उल्लेख गरेका छन् ।

उनले खुलापत्रलाई आफ्नो व्यक्तिगत अनुभव र राजनीतिक धारणालाई सार्वजनिक जवाफदेहिताका लागि उठाइएको प्रश्नका रूपमा बुझ्न आग्रह गरेका छन् ।

‘म जीवन बचाउनमा विश्वास गर्छु । मैले पहाडमा मानिसहरूको उद्धारमा सहयोग गरेको छु, विशेष गरी सुत्केरी जटिलताका कारण ज्यान जोखिममा परेका महिलाहरूको । सन् २०१५ को भूकम्पपछि मैले आफ्नो ट्रेकिङ कम्पनी बन्द गरेर यसका टेन्ट तथा क्याम्पिङ सामग्री हिमाली बासिन्दा र विस्थापित समुदायलाई वितरण गरेँ’, उनले भनेका छन्, ‘८ सेप्टेम्बर २०२५ मा, जेन–जी आन्दोलनमा भएको हत्यापछि, मैले संसद्बाट राजीनामाको घोषणा गरेँ । यिनै निर्णयहरूका आधारमा म मूल्याङ्कन हुन चाहन्छु ।’