एजेन्सी– यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको हुथी सञ्चारमाध्यमले जनाएको छ ।
हुथी समूहको समाचार एजेन्सी सबाका अनुसार शुक्रबार ताइज प्रान्तको अल–तुर्बा सहरस्थित एक आवासीय भवनलाई लक्षित गरी साउदी युद्धविमानले आक्रमण गरेको थियो । स्थानीय स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
यसैबीच, साउदी सेनाले हुथी समूहको प्रभाव क्षेत्र मानिने सादा क्षेत्रमा इन्धन भण्डारण केन्द्रलाई पनि निशाना बनाएको समाचारमा उल्लेख छ ।
यसअघि बिहीबार हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको जाजान तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका थिए । साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार उक्त आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए ।
आक्रमणपछि लागेको आगलागीका कारण तेल प्रशोधन केन्द्रको सञ्चालनसमेत बन्द गर्नुपरेको साउदी अधिकारीहरूले बताएका छन् ।
यमनमा पछिल्लो समय पुनः युद्ध चर्किएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले हुथी समूहको नियन्त्रणमा रहेका क्षेत्रमा नियमित हवाई आक्रमण गर्दै आएको छ । त्यसको जवाफमा हुथी समूहले साउदी अरबका तेल तथा ऊर्जा केन्द्र, विमानस्थल र राजधानी रियादको वित्तीय क्षेत्रमा समेत आक्रमण गर्दै आएको छ ।
सन् २०१५ मा राजधानी सानाबाट हटाइएपछि यमनी सरकार दक्षिणी सहर अदनमा आश्रय लिएर बसेको छ । पछिल्लो समय हुथी लडाकुहरू अदनतर्फ अघि बढिरहेको समाचारमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यमनमा पुनः द्वन्द्व सुरु भएयता दुई हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाख ६४ हजारभन्दा बढी विस्थापित भएका छन् ।
त्यस्तै, साउदी अरबका अधिकारीहरूका अनुसार हुथी समूहका आक्रमणमा साउदी अरबभित्र २७ जनाको मृत्यु भएको छ ।
यमनको द्वन्द्वले लालसागरस्थित रणनीतिक जलमार्ग बाब अल–मन्देब क्षेत्रमा समेत सुरक्षा चुनौती बढाएको छ ।


प्रतिक्रिया