काठमाण्डु– प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले प्राप्त सुझाव समेटेर निर्वाचन आयोगको रणनीतिक योजनालाई परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
रणनीतिक योजनाको समीक्षा तथा छलफलका क्रममा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ कार्यक्रममध्ये १६ वटा आंशिक रूपमा कार्यान्वयन भएको र १० वटा सुरु नै हुन नसकेको पाइएको छ ।
निर्वाचन आयोगद्वारा आज ललितपुरमा आयोजित बैठकमा बाेल्दै कार्कीले कार्यान्वयन हुन नसकेका कार्यक्रमका समस्या पहिचान गरी प्रक्रिया तथा कार्यान्वयनको ढाँचामा सुधार गरिने बताए । छलफलमा सहभागीहरूले कार्यक्रम असम्भव वा अनावश्यक नभई प्रभावकारी कार्यान्वयनका लागि प्रक्रियागत सुधार आवश्यक रहेको सुझाव दिएका थिए ।
‘रणनीतिक योजनाको समीक्षा तथा छलफलका क्रममा केही कार्यक्रम आंशिक रूपमा कार्यान्वयन भएको र केही कार्यक्रम कार्यान्वयन हुन नसकेको विषयमा विस्तृत छलफल भएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ कार्यक्रममध्ये १६ वटा आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा कार्यक्रम सुरु हुनसकेका छैनन् । कार्यान्वयन हुन नसकेका कार्यक्रम किन अघि बढ्न सकेनन् भनेर ध्यान दिनेछौँ, कार्यक्रम कार्यान्वयन गर्न नसकिने प्रकृतिका छैनन्, कार्यान्वयनको ढाँचा तथा प्रक्रियामा सुधार आवश्यक छ भन्ने विषयमा सहभागीहरूबाट सुझाव प्राप्त भएको छ’, प्रमुख निर्वाचन आयुक्तले भने ।
उनले रणनीतिक योजनाका पाँचवटै मूल स्तम्भलाई आधार बनाएर गरिएको छलफलमा सहभागी वक्ताहरूले कार्यक्रम असम्भव वा अनावश्यक रहेको भन्दा पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रक्रियागत सुधार आवश्यक रहेको सुझाव आएको उल्लेख गरे।


प्रतिक्रिया