काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् ।
रास्वपा कास्कीले आज साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए ।
विद्युत् महसुलमा भ्याट लगाउने व्यवस्थाले उपभोक्तामा आर्थिक भार थपिएको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उनले आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
‘मन्त्रालयको कोसिस भ्याट सहज बनाउनेबाहेक अन्य सहुलियत के–के दिन सकिन्छ भनेर पनि लागिरहेका छौँ । यसबाहेक अतिरिक्त शुल्कलाई कसरी हेर्न सकिन्छ भन्ने हाम्रो कोसिस जारी छ’, मन्त्री श्रेष्ठले भने ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लाग्दै आएको छ । मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभावी अनुमति दिइएको पाइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्न मन्त्रालयले काम गरिरहेको बताए ।
एउटै नदीमा धेरै आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उल्लेख गर्दै उनले कतिपय स्थानमा मृत्यु संस्कारका लागि जाँदासमेत खोलामा पानी नहुने अवस्था रहेको बताए । नदीलाई स्वतन्त्र रूपमा बग्न दिनुपर्नेमा उनको जोड थियो ।
‘विद्युतको अभावले हो कि किन हो, जथाभावी लाइसेन्स दिएको पाएका छौँ । पहिला लाइसेन्स दिएको कारण कानुनी जटिलता छ । अहिले हामीले त्यसलाई नियमन गर्न खोजेका छौँ’, उनले भने ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नयाँ योजना ल्याउनुभन्दा पनि विगतका निर्णय र व्यवस्थालाई सुधार गर्नुपर्ने अवस्था बढी चुनौतीपूर्ण रहेको बताउँदै अहिले भने मन्त्रालयका काम क्रमशः सही दिशामा अघि बढ्न थालेको उनले जानकारी दिए।
स्थानीयवासी र जलविद्युत् प्रवद्र्धकबीच देखिने विवाद समाधान तथा उजुरीको सुनुवाइ गर्ने अधिकार विद्युत् नियमन आयोगमा रहेको उल्लेख गर्दै उनले केही विवाद समाधानको प्रक्रियामा अघि बढेको जानकारी दिए ।
‘व्यक्तिले शासन गर्ने राज्य होइन, विधिले शासन गर्ने राज्य बनाउँदैछौँ । अहिले केही विवाद सुल्झिएको छ । प्रवर्द्धकको दायित्व सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँग मिलेर पूरा गर्नुपर्ने र कम्युनिटी सपोर्ट कार्यक्रम गर्नुपर्नेछ’, उनले भने ।


प्रतिक्रिया