बालेन शाहबारे प्रयोग गरेको विवादित शब्द ‘द इकोनोमिस्ट’ले हटायो

बालेन शाहबारे प्रयोग गरेको विवादित शब्द ‘द इकोनोमिस्ट’ले हटायो

पहिला के लेखेको थियो, अहिले के लेख्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलायतबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय पत्रिका ‘द इकोनोमिस्ट’ले प्रधानमन्त्री वालेन्द्र शाहबारे प्रकाशित गरेको समाचारको शीर्षकमा प्रयोग भएको शब्द परिवर्तन गरेको छ ।

उक्त पत्रिकाले समाचार शीर्षकमा प्रयोग गरेको शब्दबारे आलोचना भएको थियो । त्यसपछि पत्रिकाले शीर्षकमा शब्द परिवर्तन गरेर छोट्याएको छ ।

पत्रिकाले प्रकाशित गरेको समाचारको शीर्षकमा प्रयोग भएको ‘begs’ शब्द परिवर्तन गरी ‘asks’ थपेको हो ।

नोभेम्बर २६मा प्रकाशित समाचारको सुरुमा Nepal’s ex-rapper prime minister begs India for cash लेखिएको शीर्षकलाई पछि Nepal’s ex-rapper prime minister asks India for cash राखेर सच्चयाइएको छ ।

अंग्रेजीका यी दुई शब्दको अर्थ र प्रस्तुतिको भावमा महत्त्वपूर्ण भिन्नता छ । यसरी शीर्षकमा रहेको ‘begs’ शब्द हटाएर ‘assk’ राखिएको हो । अनलाइनमा उपलब्ध पुरानो र नयाँ शीर्षकका अभिलेखले पनि यो परिवर्तन देखाउँछन् ।

शीर्षकमा के परिवर्तन भयो ?

पत्रिकाको अनलाइन संस्करणमा सुरूमा प्रकाशित शीर्षकको अर्थ नेपाली भाषामा नेपालका पूर्व र्‍यापर प्रधानमन्त्रीले भारतसँग ‘भिख’ मागेको लाग्ने थियो । तर समाचार उक्त शीर्षकलाई लिएर आलोचना भएपछि पत्रिकाले शब्द परिवर्तन गरेको हो ।

पत्रिकाले शीर्षक परिवर्तन गरेपछि त्यसको नेपालीमा नेपालका पूर्वर्‍यापर प्रधानमन्त्रीले भारतसँग आर्थिक ‘सहयोग’ मागे अर्थ लाग्छ ।

Begs र asks शब्दमा के फरक छ ?

शीर्षक परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण पक्ष अंग्रेजीका यी दुई शब्दको अर्थ र त्यसले दिने सन्देश हो । Begs को अर्थ भीख माग्नु वा याचना गर्नु हो भने asks को अर्थ माग्नु वा अनुरोध गर्नु हो ।

अंग्रेजी पत्रकारितामा ‘begs’ शब्द प्रयोग गर्दा आर्थिक सहयोग माग्ने व्यक्तिलाई याचकको रूपमा प्रस्तुत गरेको अर्थ लाग्न सक्छ । यसले सम्बन्धित व्यक्तिको प्रतिष्ठा र राजनीतिक छविमा समेत नकारात्मक प्रभाव पार्न सक्छ ।

तर ‘asks’ तुलनात्मक रूपमा तटस्थ शब्द हो । कुनै देशका प्रधानमन्त्रीले अर्को देशसँग आर्थिक सहयोग मागेको विषयलाई यसले सामान्य कूटनीतिक तथा राजनीतिक सन्दर्भमा प्रस्तुत गर्छ ।

त्यसैले शीर्षकमा भएको यो परिवर्तन सामान्य शब्द सम्पादन मात्र नभई समाचारको प्रस्तुतिमा आएको अर्थपूर्ण परिवर्तन हो ।

पहिले ‘begs’ र पछि ‘asks’ प्रयोग भएको शीर्षक भेटिन्छ । तर द इकोनोमिस्टले किन शब्द परिवर्तन गर्‍यो, कसको आग्रहमा परिवर्तन गर्‍यो वा सम्पादकीय पुनरावलोकनपछि परिवर्तन गरिएको हो भन्नेबारे पत्रिकाको आधिकारिक स्पष्टीकरण भेटिएको छैन ।

त्यस्तै, ‘begs’ शब्द हटाएपनि समाचारको मूल सामग्री भने यथावत् छ ।

समाचारमा के लेखिएको थियो ?

द इकोनोमिस्टको उक्त समाचारमा प्रधानमन्त्री शाहको राजनीतिक पृष्ठभूमि, नेतृत्व शैली, भारत भ्रमण र नेपालले भारतसँग खोजेको आर्थिक सहयोगबारे चर्चा गरिएको छ ।

पत्रिकाले ३६ वर्षीय शाहलाई पूर्वर्यापर तथा काठमाण्डुका पूर्वमेयरका रूपमा परिचय गराएको छ । उनको कालो चस्मा, हिराको कानको मुन्द्रा र कालो टोपीको शैलीबारे पनि उल्लेख गरेको छ ।

नेपालले बाढीपहिरोबाट भएको क्षति पुनर्निर्माण तथा आर्थिक पुनरूत्थानका लागि भारतसँग दुई अर्ब अमेरिकी डलर ऋण तथा अनुदान सहयोग मागेको समाचारमा उल्लेख छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १.६ अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको पत्रिकाले लेखेको छ ।

यस्तै चीनले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका बेला भारतले घोषणा गरेको आर्थिक सहयोग प्याकेजले नेपाललाई भारतसँग थप नजिक ल्याउने विश्लेषण पनि समाचारमा छ ।

पत्रिकाले शाहको राजनीतिक विचार र नीतिगत दृष्टिकोण अझै स्पष्ट नभएको टिप्पणी गरेको छ । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति, सरकार सञ्चालनको शैली र प्रशासनिक निर्णयबारे पनि प्रश्न उठाएको छ ।

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयसमेत आफूसँग राखेको, सेनाका पूर्वअधिकारीलाई महत्त्वपूर्ण कूटनीतिक जिम्मेवारी दिएको र विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सेनाको भूमिका बढेको विषयलाई पनि समाचारले समेटेको छ ।

शीर्षक परिवर्तनले के सन्देश दिन्छ ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कुनै देशका प्रधानमन्त्री वा राष्ट्रप्रमुखबारे समाचार लेख्दा प्रयोग गर्ने शब्दले सम्बन्धित देशको राजनीतिक छवि र कूटनीतिक प्रतिष्ठामा प्रभाव पार्न सक्छ ।

विशेषगरी नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका प्रधानमन्त्रीले छिमेकीसँग आर्थिक सहयोग मागेको विषयलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।