नेपालगञ्ज- कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई दिइएको आममाफीको विरोध गर्दै आएका पत्रकार आशिष मल्लमाथि शनिबार साँझ नेपालगञ्जमा रड प्रहार भएको छ।
रड आक्रमणबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ। अहिले उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।
मल्ल नेपालगञ्ज उपमहानगरपालिका–१० औद्योगिक क्षेत्रस्थित ‘लाहुरे रेस्टुरेन्ट’मा कफी पिइरहेका बेला कालो कपडा लगाएका एक व्यक्तिले साँझ सवा ५ बजे रड प्रहार गरेका हुन् ।
रेस्टुरेन्ट उनको घरबाट करिब १५ मिनेटको दूरीमा छ। मल्लकी पत्नी भावना बुढाले रिगलको आममाफीविरुद्ध आवाज उठाएपछि मल्ललाई पटकपटक धम्की आएको बताएकी छन्।
‘रिगलविरुद्ध आवाज उठाएकैले पटकपटक धम्की आउने गरेको थियो। सुरक्षाका लागि सम्बन्धित निकायमा गुहार माग्दा कसैले वास्ता गरेनन्,’ उनले सञ्चारकर्मीलाई भनिन्।
उक्त आक्रमण रिगलका आफन्त या सहयोगीले गरेको खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
आममाफी र सर्वोच्चको फैसला
नेपालगञ्जका चेतन मानन्धरको हत्या प्रकरणमा योगराज ढकाल ‘रिगल’लाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो। २०८० असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले बाँकी कैद मिनाहा गर्न सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिएका थिए। त्यस निर्णयको चेतनकी पत्नी भारती शेर्पाले विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
२०८० कात्तिक १६ गते सर्वोच्च अदालतको पूर्ण इजलासले रिगलको कैद माफी गर्ने निर्णय बदर गर्दै उनलाई पक्राउ गरी बाँकी कैद भुक्तान गराउन आदेश दिएको थियो। अदालतले कैद माफीको निर्णय गर्दा कानुनी प्रक्रिया र पीडितको हकलाई ध्यान दिनुपर्ने ठहर गरेको थियो।
आममाफी र त्यसपछिको कानुनी प्रक्रियाले पीडित परिवारको न्यायको अधिकार, कैद माफीको मापदण्ड र राष्ट्रपतिको क्षमादानसम्बन्धी अधिकारबारे सार्वजनिक बहस चर्काएको थियो। यही प्रकरणमा बोल्दै आएका पत्रकारमाथि भएको आक्रमणको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्नुपर्ने माग उनका परिवारले गरेका छन्।


प्रतिक्रिया