एआई भिडियो जारी गर्दै बदला लिने इरानको धम्की : अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालय ध्वस्त पार्छौँ

एआई भिडियो जारी गर्दै बदला लिने इरानको धम्की : अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालय ध्वस्त पार्छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान- इरानको सरकारी सञ्चारमाध्यमले टेलिग्राममा एआईबाट बनाइएको एउटा भिडियो सार्वनजिक गरेको छ।

भिडियोमा अमेजन, माइक्रोसफ्ट र स्पेसएक्सका मुख्यालयमा ड्रोन आक्रमण र विस्फोटका दृश्य देखाइएको छ। इरानले यी कम्पनीले अमेरिकी र इजरायली सेनासँग गोप्य रूपमा सहकार्य गरेको आरोप लगाएको छ।

पश्चिम एसियामा जारी सैन्य तनावबीच इरानको सरकारी सञ्चारमाध्यमले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको भिडियो सार्वजनिक गर्दै अमेरिकी ठूला प्रविधि कम्पनीलाई धम्की दिएको छ।

भिडियोमा अनलाइन व्यापार कम्पनी अमेजन, सफ्टवेयर कम्पनी माइक्रोसफ्ट र एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सका मुख्यालयमा ड्रोन आक्रमण र भीषण आगलागी भएका दृश्य देखाइएको छ।

‘पश्चात्ताप कि विनाश : निर्णय अमेरिकाको हातमा’

न्युयोर्क पोस्टको समाचारअनुसार, इरानको सरकारी मेहर समाचार संस्थाले बिहीबार टेलिग्राममा भिडियो साझा गरेको थियो। अंग्रेजी भाषाको वर्णनसहितको भिडियो यस्तो चेतावनीबाट सुरु हुन्छ, ‘हामी आफ्ना बालबालिकाका हत्यारालाई माफी दिनेछैनौँ।’

भिडियोमा अमेरिकी नागरिक र कम्पनीबीच भिन्नता देखाउँदै भनिएको छ, ‘हामी अमेरिकी जनतालाई कुनै हानि पुर्‍याउने छैनौँ, यसलाई चेतावनीका रूपमा लिनुहोस्। इरानमाथिका आक्रमणमा संलग्न कम्पनीहरूले क्षतिपूर्ति तिर्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ। नत्र, उनीहरूले पनि त्यस्तै स्तरको विनाश भोग्न तयार हुनुपर्छ।’

भिडियोको अन्त्यमा अमेरिकालाई सीधा सन्देश दिइएको छ: ‘पश्चात्ताप कि विनाश? छनोट तपाईंको हो, अमेरिका।’

मिनाबको स्कुलमा आक्रमणमा पेन्टागनको नाम

भिडियोसँगै टेलिग्राममा साझा गरिएको सन्देशमा ती प्रविधि कम्पनीले अमेरिकी र इजरायली सैन्य निकायसँग गोप्य रूपमा सहकार्य गरेको आरोप लगाइएको छ।

इरानले दक्षिणी इरानको मिनाबस्थित शजरेह तैय्येब प्राथमिक विद्यालयमा फेब्रुअरी २८ मा भएको बम आक्रमणको पनि उल्लेख गरेको छ। लेखअनुसार, अमेरिका–इजरायलको सैन्य अभियान सुरु भएको पहिलो दिन भएको उक्त क्षेप्यास्त्र आक्रमणमा विद्यालयमा पढिरहेका कम्तीमा १६५ छात्राको मृत्यु भएको थियो।

भिडियोमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को एउटा प्रेस विज्ञप्तिको तस्बिर पनि देखाइएको छ। त्यसमा अमेजन वेब सर्भिसेज, स्पेसएक्स र माइक्रोसफ्टसँगको कृत्रिम बुद्धिमत्तासम्बन्धी साझेदारीबारे उल्लेख छ।

अमेरिकी सैन्य अभियानको अनिश्चितताबीच धम्की

इरानको यो धम्की अमेरिकी सैन्य अभियान कति समयसम्म चल्ने र यसको भविष्य के हुने भन्नेबारे वासिङ्टनमा अनिश्चितता कायम रहेका बेला आएको हो। नोभेम्बर २४ मा न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभियानका लागि सन् २०२७ जनवरीको अन्त्यसम्म पुग्ने बजेट उपलब्ध रहेको बताएका थिए।

जनवरीमा अमेरिकी संसद्‌को तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत कायम हुन लागेको अवस्थामा उसले सैन्य अभियान रोक्ने वा सीमित गर्ने प्रयास गर्न सक्ने लेखमा उल्लेख छ। डेमोक्रेटहरूले बीचमै अभियान रोके अमेरिकी सैन्य विजयलाई पराजयमा बदल्ने ट्रम्पले चेतावनी दिएको पनि समाचारमा जनाइएको छ।

ट्रम्पले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली र नेतृत्वलाई ठूलो क्षति पुर्‍याइएको तथा अमेरिकाले चाहेको बेला युद्ध अन्त्य गर्न सक्ने दाबी गरेको लेखमा उल्लेख छ।