अन्तर्वार्ता

गगनहरूको कुरै नगरौँ, हामी नै आधिकारिक कांग्रेस हौँ : प्रकाशशरण महत

गगनहरूको कुरै नगरौँ, हामी नै आधिकारिक कांग्रेस हौँ : प्रकाशशरण महत

'सर्वोच्चले नभनेपछि महाधिवेशन रोकिँदैन'

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंसिर २१ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ।

महाधिवेशनको तयारीस्वरूप पूर्वसभापति देउवा अहिले देश दौडाहमा छन्। पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई समेटेर अघि बढ्ने रणनीतिमा देउवा देखिएका छन्।

यता गगन थापा नेतृत्वको नेपाली कांग्रेसले देउवा पक्षको महाधिवेशनमा सहभागी हुने नेताहरूलाई कारबाही गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा सहभागी हुने निर्वाचित जनप्रतिनिधिलाई पदबाट हटाउनेसम्मको चेतावनी थापा पक्षको कांग्रेसले दिएको छ। तर, देउवा पक्षले भने कुनै हालतमा महाधिवेशन नरोकिने अडान लिएको छ।

निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिइसकेको अवस्थामा देउवा पक्षले त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुनी लडाइँ जारी राखेको छ। अदालतबाट अन्तिम फैसला नआएसम्म आफ्नो राजनीतिक गतिविधि नरोक्ने देउवा पक्षको भनाइ छ।

देउवा पक्षका नेता डा. प्रकाशशरण महतले गगन थापा नेतृत्वको कांग्रेसले दिएको चेतावनीबाट आफूहरू नडराउने बताउँछन्।

सर्वोच्च अदालतले नै महाधिवेशन नगर्न भनेर आदेश नदिएको अवस्थामा अरूको निर्देशन नमान्ने उनको भनाइ छ। छुट्टै पार्टी गठन गर्ने विषयमा भने अदालतको फैसला नआएसम्म कुनै निर्णय नगर्ने उनले स्पष्ट पारेका छन्।

१५औँ महाधिवेशन, पार्टीको आधिकारिकता विवाद, कारबाहीको चेतावनी र नेतृत्व चयनलगायत विषयमा काठमाण्डुपाटीले नेता महतसँग गरेको कुराकानी-

कांग्रेसले त तपाईंहरूको समानान्तर गतिविधि रोक्न आग्रह गरेको छ नि ?

सर्वोच्च अदालतमा हामीले रिट दायर गरेका छौँ। त्यसको अहिलेसम्म सुनुवाइ भएको छैन। त्यसैले अदालतबाट फैसला नआउँदासम्म हामीले आफ्नो गतिविधि गर्न पाउँछौँ।

उहाँहरू पनि कांग्रेस, हामी पनि कांग्रेस। हामीले आफ्नो महाधिवेशन गर्न लागेका हौँ। के कारबाही गर्नुहुन्छ, हेरौँ न त। अदालतले नै हामीलाई १५औँ महाधिवेशन नगर भनेको छैन। गगनहरूको के कुरा, कुरै नगरौँ।

निर्वाचन आयोगले त गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिइसकेको छ नि, त्यसलाई नमान्ने ?

हामीले त महाधिवेशन नै गरेर आधिकारिकताका लागि पेस गरेका छैनौँ। त्यसकारण अब हाम्रो पनि हुन सक्ला, यतातिर नजाऔँ। किनभने अदालतमा मुद्दा छ। अदालतले जे फैसला गर्छ, त्यसलाई सबैले मान्नुपर्छ। नीति, नियम र कानुनभन्दा माथि त कोही हुँदैन होला नि। हामीले पनि आफ्नो तर्फबाट कानुनी लडाइँ लड्न पाउँछौँ।

उहाँहरूले त विधि र नीतिअनुसार गरिएको महाधिवेशन नमानेर आफ्नै ढंगले अगाडि बढ्ने भए छुट्टै पार्टी खोल्नुस् भन्नु भएको छ नि ?

पार्टी छुट्टै खोल्ने या के गर्ने भन्ने उहाँहरूले सोच्ने विषय हो ? हाम्रो मुद्दा अदालतमा परेको हिसाबले फैसला नआएसम्म हामी रोकिँदैनौँ। हामी आधिकारिक कांग्रेस हौँ। १४औँ महाधिवेशन भएको थियो, अब १५औँ महाधिवेशन गर्न लागेका हौँ। यी बेकारका कुरा हुन्।

अदालतले नै तिमीहरू गतिविधि नगर भनेको अवस्था छैन। उहाँहरूले विशेष महाधिवेशनको विषयमा प्रश्न उठाइसकेपछि हामीले पनि आफ्ना गतिविधि अगाडि बढाउन पाउँछौँ। हामी उहाँहरूसँग गएर टाँसिनेवाला पनि छैनौँ, उहाँहरूलाई महत्त्व दिनेवाला समेत छैनौँ। हामी आफ्ना गतिविधि गर्छौँ। जुन बेला अदालतले आधिकारिक निर्णय गर्छ, त्यसलाई मान्छौँ।

अदालतले फैसला गरेर तपाईंहरूलाई गतिविधि नगर भनिदियो भने मान्नुहुन्छ ?

फैसला हाम्रै पक्षमा आउँछ। न्यायको पक्षमा आउँछ। अदालतले भनेको कुरालाई हामी स्वीकार्न तयार छौँ। तर हामी ढुक्क छौँ, अदालतले न्याय दिन्छ। हामी आधिकारिक कांग्रेस भएपछि उहाँहरू जोडिनुहुन्छ या जोडिनुहुन्न, त्यो उहाँहरूको कुरा हो।

तपाईंहरूले छुट्टै पार्टी गठन गर्न पनि लाग्नुभएको छ रे ?

त्यो विषय पनि सोच्नुपर्ने हुन सक्छ। तर अदालतको निर्णय नआएसम्म हामी अहिले केही गर्नेवाला छैनौँ। हामी चाहन्छौँ, अदालतले छिटो फैसला गरोस्। तर हामी महाधिवेशन कुनै पनि हालतमा रोक्दैनौँ।

मंसिर २१ गतेदेखि हुन लागेको महाधिवेशनमा तपाईं चाहिँ कुन पदमा दाबी गर्दै हुनुहुन्छ ?

स्वाभाविक हिसाबले सहमतिको महाधिवेशन बनाउने प्रयत्न रहन्छ। सहमति गर्दा सभापतिपछिको जुनसुकै पदमा पनि रहन सक्छु। अथवा सभापति नै बन्ने अवस्था पनि हुन सक्छ।

अब देउवा पक्षले चुन्ने कांग्रेसको सभापति को हो त ?

हामीले सहमति गर्दा एक जना नेता आउन सक्नुहुन्छ। अहिलेसम्म यसबारे गम्भीर छलफल गरिसकेका छैनौँ। स्वाभाविक हिसाबले उत्तिकै दाबेदार हुनुहुन्छ।