राजनारायण पाठकमाथि अकुतमा पनि छानबिन

राजनारायण पाठकमाथि अकुतमा पनि छानबिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ। अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो।

अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ। अख्तियारको मागअनुसार मन्त्रालयले इन्जिनियरिङ कलेजको विवरण आयोगमा पठाइसकेको छ। इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले पटक–पटक गरेर पाठकलाई ७८ लाख रुपैयाँ घुस बुझाएको खुलासा गरेपछि पाठक विवादमा परेका हुन्।

घुस बुझाउनेलगायत कलेज सञ्चालकमाथि पनि छानबिन अगाडि बढाउने भएको छ। इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विषयमा न्यौपाने र दीपक भट्टराईको समूहबीच विवाद भएको थियो। १० करोड रुपैयाँ बाँड्ने विषयमा विवाद भएपछि भट्टराई समूहले जिल्ला प्रशासन कार्यालय, संसद्को शिक्षा, स्वास्थ्य समिति र अख्तियारमा उजुरी दिएको थियो।

सम्पत्ति बाँडफाँटमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन, संसदीय समिति र अख्तियारमा उजुरी परेपछि छानबिन रोक्न न्यौपाने समूहले आयुक्त पाठकलाई घुस दिएको थियो। शिक्षा मन्त्रालयले पनि उक्त कलेजमा भएको अनियमितताका विषयमा छानबिन थालेको छ। शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले शिक्षा स्वास्थ्य समितिको निर्देशनअनुसार कलेजको सञ्चालन मोडालिटी र आर्थिक अनियमितताको विषयमा छानबिन गरिएको बताए।

दुई बैठक बसिसकेको छ, बैठकले कलेजसँग विवरण माग गरेको छ। गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको कलेजले सम्पत्ति बाँडफाँट गर्नु अवैध कार्य हो। त्यसैबीच अख्तियारले पाठकनिकट व्यक्तिलाई बोलाएर अनुसन्धान थालेको छ। पीएसओ, ड्राइभर बोलाएर सोधपुछ र बयान लिएको छ। उनीहरूसँग पाठक कहाँ–कहाँ जान्थे, के गर्थे भन्ने बझ्ने काम भएको छ।

पाठककै दैनिकीबारे सबैभन्दा बढी जानकारी पीएसओ र ड्राइभरलाई हुने भएकाले उनीहरूसँग बयान लिइएको हो। घुस काण्डमा मुछिएका नापी विभाग र त्रिभुवन विमानस्थलका कर्मचारीको विषयमा पनि अनुसन्धान गर्ने भएको छ। सार्वजनिक भएको भिडियो भने अख्तियारले हात पारेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको भिडियो अख्तियारमा पुगेको छैन। अख्तियार स्रोतले भिडियो हात परिनसकेको बताएको छ।

महान्यायाधिवक्ताको कार्यालयले संविधान र अख्तियार ऐनअनुसार पाठकविरुद्ध कारबाही गर्न राय दिएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको थियो। पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए। अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अनुसन्धान अधिकृत तोकेर पाठकविरुद्ध कारबाही थालेकाले सकारात्मक मोड लिने विश्वास व्यक्त गरे।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, कार्यविधिअनुसार अनुसन्धान टोलीले कारबाही अगाडि बढाउने बताए। ‘अब पाठक आयुक्त रहेनन्, उनीहरूविरुद्ध अन्य सामान्य भ्रष्टाचारीलाई गर्ने प्रक्रियाअनुसार नै अनुसन्धान र कारबाही हुन्छ’, उपाध्यायले भने। यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।