काठमाडौं – ललितपुरमा भएको सामूहिक बलात्कार मुद्दामा डीएनए नमिलेकै आधारमा बलात्कार होइन भन्न नमिल्ने फैसला अदालतले गरेको छ। ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २ मंसिर २०७४ मा भएको सामूहिक बलात्कार घटनाको मुद्दामा डीएनए नमिलेकै कारण पीडकलाई छुट दिन नमिल्ने फैसला जिल्ला अदालत ललितपुरले गरेको छ।
जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै ज्यान मार्ने उद्योग र चोरीको घटनामा समेत दोषी ठहर र ‘जबर्जस्ती करणी’ भनिने बलात्कारको घटनामा पाँच वर्षका दरले कैद फैसला भएकामा सामूहिक बलात्कारमा थप पाँच वर्ष सजाय थपी १०–१० वर्षको कैद किटान गरेको छ।
उनीहरूमाथि १-१ लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ। युवतीको ३ हजारसमेत चोरी भएकाले त्यसमा पनि उनीहरूलाई दोषी ठहर गरिएको छ। ३ हजार रुपैयाँ दामासाहीका हिसाबले पीडितलाई बुझाउन फैसलामा भनिएको छ। यो खबर आजको राजधानी दैनिकमा छ।




प्रतिक्रिया